१८ बाणिज्य बैंकको नाफा २४ अर्ब नजिक, कुन बैंकको अवस्था कस्तो ?(सूचिसहित)

  २०७५ वैशाख १३ गते १२:०३     नारायण पौडेल

काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा १८ वटा बाणिज्य बैंकहरुले २३ अर्ब ८८ करोड नाफा कमाएका छन् । २०७३ चैत मसान्तमा यीनै बैंकहरुले कमाएको भन्दा यो नाफा ३ अर्ब ८४ करोडले बढि हो । सो अवधीमा यीनै १८ वटा बाणिज्य बैंकहरुले जम्मा २० अर्ब ३ करोड नाफा कमाउन सफल भएका थिए ।
बैंकहरुले नाफा १९.१६ प्रतिशत वृद्धि गरेका हुन् ।

तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १८ वटा बाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै २ अर्ब ८३ करोड नाफा आर्जन गरेको छ । दोश्रो नम्बरमा नेपाल बैंकले २ अर्ब ५६ करोड नाफा आर्जन गरेको छ भने एक अर्ब ८० करोड नाफा कमाएर एभरेष्ट बैंकले तेश्रो स्थान सुरक्षित गरेको देखिन्छ । हिमालयन बैंकले १ अर्ब ६१ करोड नाफा कमाउँदा स्ट्याण्डर्ड चाटर्ड बैंकले १ अर्ब ५० करोड नाफा कमाउन सफल भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा

नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुद नाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

नेपाल बैंकको नाफा २५६ करोड
चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकको नाफा सामान्य वृद्धि भएको छ । बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो ।

एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड 

एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २९.७६ रुपैयाँ पुगेको छ जुन पुसमा २८.४१ रुपैंयाँ थियो ।

सिटिजन्स बैंकको नाफा १०० करोड
सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १०० करोड पुगेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १२ करोडले बढाएर १०० करोड पुर्याएको हो । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ भने स्प्रेड दर ३.७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११.१५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२९.५६ रुपैंयाँ रहेको छ ।

सिद्धार्थ बैंकको नाफा एक अर्ब २२ करोड
सिद्धार्थ बैंकले ९ महिनामा आफ्नो नाफा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । २०७३ चैत मसान्तसम्ममा ९५ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा २७ करोड रुपैंयाँ बढाएको हो । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ ।
सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ ।

लक्ष्मी बैंकको नाफा ३ महिनामै ५६ प्रतिशतले वृद्धि
लक्ष्मी बैंकले ३ महिनामै आफ्नो नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो । २०७३ चैतमा भने बैंकको नाफा ५६ करोड थियो । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ ।

सानिमा बैंकले कमायोे १२० करोड नाफा
सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खुदनाफा २७ करोड रुपैयाँ बढाएको छ । २०७३ चैतमा ९४ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा एक अर्ब २० करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको छ

ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड
ग्लोबल आईएमई बैंकले १४४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक को चैत मसान्तसम्ममा १४८ करोड नाफा कमाएको थियो । बैंकले पछिल्लो ३ महिनामा भने खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । गत पुस मसान्तसम्ममा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।  बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपाल एसबीआई बैंक

बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो ।

जनता बैंकको नाफा ५७ करोड ५७ लाख

चैत मसान्त अवधीसम्ममा बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ ।

एनएमबी बैंकको नाफा बढेर १४१ करोड

एनएमबी बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड

स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । पुस मसान्त अवधीमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो । २०७३ चैतमा भने बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकको आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ ।

सनराइज बैंकको नाफा ९ करोडले वृद्धि

सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ ।

सेञ्चुरी बैंकको नाफा ३ महिनामै बढ्यो ९६ प्रतिशत

सेञ्चुरी बैंकले ३ महिनामै ९६.८७ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो । बैंकले २०७३ चैतमा ३१ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।

हिमालयन बैंकले तीन महिनामै बढायो ५१ करोड

हिमालयन बैंकले तीन महिनामै ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो ।
हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६३.६१ रुपैंयाँ रहेको छ ।

प्राइम बैंकको नाफा ४२ प्रतिशतले वृद्धि

प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ ।
२०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ । २०७४ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ ।

बैंक अफ काठमाण्डूको नाफा अर्ब नजिक

बैंक अफ काठमाण्डूले ९ महिनामा ९३ करोड नाफा कमाएको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाउन सफल भएको बैंकले २०७४ चैत मसान्तमा ९३ करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी १७.५४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.७५ रुपैंयाँ रहेको छ ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले चालु आवको नौ महिनामा ९२ करोड नाफा कमाउन सफल भएको छ । बैंकले गत आवको चैत मसान्त अवधीमा एक अर्ब १३ करोड नाफा कमाउन सफल भएको थियो । २०७३ चैतको तुलनामा बैंकको नाफा २१ करोडले घटेको देखिन्छ ।