बीपीसीले सहायक कम्पनीबाट पायो ५५ करोड १० लाख नगद लाभांश

  २०७५ वैशाख १३ गते १०:२०     विकासन्युज

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो ।

३ कम्पनीको लाभांशले गर्दा गत वर्ष बीपीसीले ६६ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको हो । यस मध्ये ४५ करोड रुपैयाँ सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ ।

बीपीसीले सबैभन्दा बढी लाभांश हिमाल पावरबाट पाएको छ । बीपीसीले हिमालबाट ५४ करोड ८७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले बढी हो । ६० मेगावाटको खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावरले सो वर्ष बिजुली बिक्रबाट ३ अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सोको १७ प्रतिशत लाभांश बीपीसीले पाएको हो ।

चालु आवमा हिमालबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । हिमालबाट ठुला रकम लाभांश वापत पाएपछि ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

यस्तै हाइड्रो कन्सल्टबाट २३ लाख रुपैयाँ नगद र सोही बराबर बोनस सेयर प्राप्त गरेको छ । परामर्शदाता हाइड्रो कन्सल्टले १ करोड १४ लाख खुदनाफा गरेकोमा बोनस र नगद लाभांश गरी ४६ लाख रुपैयाँ पाएको छ । यस्तै जलविद्युत टर्वाइन निर्माता नेपाल हाइड्रोले ९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ ।

लाभांश दिने अर्को कम्पनीमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक रहेको छ । उ बाट बीपीसीले ३५ लाख नगद लाभांश र ३५ लाख रुपैयाँको बोनस सेयर प्राप्त गरेको छ ।

यस्तै आगामी वर्षदेखि खुदी हाइड्रोपावर लिमिटेडबाट पनि लाभांश पाउने बीपीसीका अर्थ विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले बताए ।

बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.