२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन

  २०७५ वैशाख ११ गते १६:१४     विकासन्युज

काठमाडौं । ‘२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन गर्न पाइन्छ,’ यो भनाई हो राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनको । प्राधिकरणले आगामी २ बर्षभित्रै निर्माण सम्पन्न हुने धरहरा निर्माणका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर निकाल्न लागेको छ ।

करिब ४ अर्ब लागतमा निर्माण हुने धरहराको डिजाइन तयार भैसकेको छ । चार अर्ब भित्रै भ्याट र मूल्य वृद्धि समेत समेटिनेछ । ‘पुरानो ढाँचा, नयाँ निर्माण सामग्री र आधुनिक भवनसहितको धरहरा निर्माणका लागि एक साता भित्रै ग्लोबल टेण्डर निकाल्दैछौं, धरहरा सम्बन्धी सबै विवाद सकिएको छ’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख महर्जनले भने ।

ग्लोबल टेण्डर निकालेको २ महिना भित्र निर्माणकर्ता कम्पनी परिचालित हुनेछन् । जमिनमाथी ८१.२ मिटर अग्लो हुने धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५४ जनाले धरहराबाट अवलोकन गर्न सक्नेछन् । धरहरा निर्माणका लागि एक अर्ब रुपैंयाँ नेपाल टेलिकमले उपलब्ध गराउने र मै बनाउँछु धरहरा अभियानबाट २४ करोड रुपैंयाँ संकलन भैसकेको पनि मानन्धरले बताए ।

नयाँ धरहरामा पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनी समेटिनेछ । टक्सार विभागको १२ रोपनी जमिन भने धरहरामा समेटिने छैन् । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ ।

२२ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् ।

ढलेको धरहरा काँचको पर्दामा
प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने योजना बनाएको छ । त्यसमा सर्वसाधारणले भित्रै प्रवेश गरेर हेर्न भने सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.