बाग्लुङ र डोल्पा जिल्लामा टेलिकमकाे जीएसएम सेवा 

  २०७५ वैशाख १० गते १४:२२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको ढोरपाटनमा थ्रीजी विटिएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू-भाग र  बोबाङको केही भागमा घन् सेवा सञ्चालनमा आएको छ । यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ । अब यो सेवाबाट त्यस स्थानका करिव ५ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने छ ।

त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा भि स्याट प्रविधि मार्फत जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाँउपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिव २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । यो दुनै सदरमुकाम देखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ ।

स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि सहज सञ्चार सुविधाबाट पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् ।दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.