स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ: मन्त्री मगर

  २०७५ वैशाख ९ गते १३:०८     विकासन्युज

चितवन । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उनले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताए ।

तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी बाँडफाँड नहुँदा काममा समस्या आउने गरेको उल्लेख गरेका छन् ।

नारायणी नदीको पानी व्यवस्थापन गरेर स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको छ भन्दै उनले अहिले हरेक जिल्लामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गर्ने क्रममा रहेको र अनुगमनपछि कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिएका छन्।

चितवनमा पनि केही वर्षपछि पानीको समस्याहुने भएकाले यस्का लागि कर्मचारीहरुलाई दीर्घकालीन योजना बनाउन र फोहर प्रशोधन गर्दै समाजलाई सफा राख्नका लागि पहल गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिएका थिए । मन्त्री मगरले आजै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कञ्चनपुर जिल्लाबाट उपचार गराउन आएका १४ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.