पाँच लाखको संगम पाँच करोडमा पुग्यो, पछाडी फर्केर हेर्नु परेको छैन : संगम शर्मा

२०७५ वैशाख ९ गते ९:५४ विकासन्युज

संगम स्वीटसका सञ्चालक संगम शर्माले शाकाहारी होटल खोल्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए । सोही हाँसोलाई इखको रुपमा बदलेर उनले झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याए । संगम स्वीट चल्छ भनेर सुरुमा कसैले पनि पत्याएका थिएनन् । तर, विस्तारै लोकप्रियता बढ्दै गएर चेन रेष्टुराँको रुपमा संगम विस्तार भएको छ । दुई दशकअघि पहिलो दमकमा ५ लाख लगानीमा स्थापना भएको संगमको अहिले राजधानीको नयाँवानेश्वर, कमलादी मुख्य-मुख्य स्थानमा मात्रै अहिले तीन वटा आउटलेट सञ्चालनमा छन् । राजधानीबाहिर दमक, विर्तामोड, उर्लाबारीमा तीन आउटलेट विगतदेखिनै सञ्चालनमा आइसकेका थिए । केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसमा अर्को आउटलेट सञ्चालनमा ल्याउने भएको छ । प्रस्तुत छ अवसर र भावी योजनाको सम्बन्धमा सञ्चालक शर्मासंग विकासन्युजले गरेको विकास बहस:

संगम शर्मा, संस्थापक, निर्देशक-संगम स्वीट्स

 

संगम स्वीट सञ्चालनमा ल्याउनु अघि तपाइ के गर्नुहुन्थ्योे ?
मैले सानोतिनो व्यवसाय गर्दै आएको थिए । व्यवसायमा संघर्ष गरिरहेको थिए । एउटा नहुँदा अर्को साना–साना व्यापार गरिरहन्थेँ । बीचमा केही समय निर्माण कम्पनीमा काम गरे । जागिर गर्दागर्दै पार्टटाइम व्यापार शुरु गरेको थिए । पछि पेटी कन्ट्याक्ट भएर काम गरे ।

संगम स्वीटको सुरुवात कसरी भयोे ?
यसमा एकदम रोचक कहानी छ । म पहिले कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यहाँ काम गर्दा भारतबाट कोइला ल्याएर बेच्ने समुहहरुसँग मेरो चिनजान भयो । त्यसपछि भारतबाट कोइला ल्याएर बेच्न शुरु गरेँ । मैले नेपालमा जहाँ–जहाँ कोइला बेच्थेँ त्यहाँ म नै साहु नै देखिन्थेँ । बास्तवमा म साहु थिइन । भारतबाट कोहीसँग उद्यारोमा कोइला ल्याएर यता बेच्थें । नेपालमा साहु म बने तर मेरो आफ्नै धेरै लगानी, पूँजी भएर गरेको भने थिइन । विश्वासको संस्कार सायद आमाले सानैदेखि दिनुभएर होला अहिले मेरो लागि त्यो अर्बौ रुपैयाँको भन्दा बढी मूल्यको भएको छ ।

भारतमा ठुला–ठुला पार्टीहरुले नेपालमा वस्तुहरुको बिक्री गर्ने गर्थे । त्यो सिलसिलामा भारतको ब्रिजकिशोर गुप्ताले मारुती कार किनेका रहेछन् । व्यवसायको सिलसिलामा धरान आउदै गर्दा बाटोमा कसैलाई गाडीले हानी दियो । विरामीलाई धरानको घोपा अस्पतालमा राखिएको थियो । त्यहाँ घोपामा उनीहरुलाई भारतीय भाषाको ज्ञान भएको मान्छेको खोजी थियो । त्यसो त बोर्डरमा पनि केशब पाण्डे, विमल आचार्यहरु थिए, क्लियरीङ एजेन्टको रुपमा काम गर्ने । उनीहरुले मलाई पनि लिएर धरान गए ।

मसँग पनि खास त्यस्तो केही थिएन । तर भाषा जान्ने भएको कारण सहज हुन्छ भन्ने लाग्यो होला उनीहरुले मलाई लिएर गए । घोपाबाट बिरामी हेरेर फर्कदा ठ्याक्कै दमकमा पुगेपछि बाटो बन्द भएको भन्ने खबर आयो । त्यसपछि हामी दमक गेस्ट हाउसमा बस्यौं । म शाकाहारी मान्छे त्यहाँ भेजिटेरियन होटल खोज्यौं भेटिएन । मैले त्यसअघि ननभेज होटलमा भेज खाना खाएको थिइन । विश्वासको आधारमा दमकको स्टाप होटलमा फ्रेस भेज खाना खाएँ ।
फेरी अर्को चरण बिरामी हेर्न धरानको घोपामा जानुप¥र्यो । उनको गाडी बेलबारी ठानामा थियो । उनलाई गाडी निकाल्ने चक्कर भयो । म फेरी उनैसँग गएँ ।

जाँदाखेरी दिउसो दमक पुगेका थियौं । बन्द भयो र जानै नसकिने भइयो । नखुल्ने संकेत आएपछि दमकमै बस्यौं फेरी ननभेज होटल खोज्यौं । दमकमा भेजिटेरीयन होटल भेटिएन । मेरो बानी मनको कुरा खोलिहाल्ने । मैले हिन्दीमै भने, ‘यस ठाँउमा सहकारी होटल खोल्छु । त्यो कुरा सुनेर उनीहरु हाँसे । शाकाहारी होटल भेटिएन भन्दैमा खोल्ने भन्ने कुराले हाँसे होला भन्ने लाग्यो । त्यो हाँसो मेरो लागि इगो बन्यो । सायद उनीहरु नहाँसेको भए भन्थे फेरी भोलिपल्ट बिर्सिन्थेँ होला, होटल खोलिन्दैन थिए होला ।

कोइलाको काम सिजन, अफसिजनमा हुन्थ्यो । वर्षा याममा चल्दैन । हिउँदमा सिजन हुन्छ । त्यसैले पनि अर्को बिजनेशको खाँचो थियो मलाइ । त्यतिखेर म सानै थिए । अनुभवी भने थिइन । बाबु बाजेले पनि यस्तो काम गरेको थिएन । भारतको सिलगुडीको चोकैमा भेजिटेरियन महाविर भोजनालय थियो । जहाँ–जहाँ भेजिटेरियन छ । म त्यहीँको ग्राहक थिएँ ।

उक्त भोजनालयको ग्राहक बन्ने क्रममै त्यहीको स्टापहरुसँग लिङ्क गरेर त्यहीँको कुकहरुलाई सेट गरेर एकै पटक मैले भव्य रुपमा दमकमा संगम स्वीट्स खोले र नाम पनि संगम स्वीट नै नाम राखेँ । मैले पहिलेदेखि काम गरेकोले बोडरसम्मकै लिङ्क थियो । पैसा कमाइ जे–जस्तो भएपनि पहिलाको ब्यापारी भनेर ठुलो पहिचान थियोे ।

कतिपय मैले कोइला सप्लाइ गरेकाहरु अहिले ठुलो बिजनेशमेन भएका छन् । उनीहरुले मलाई बोसकै रुपमा मान्थे । मैले बोलाएपछि आउने भए । त्यसरी त्यो डेजिनेसनले काम गर्यो । मलाई याद छ, दमकको राजकुमार अधिकारी, शुरुमा होटलको लागि उनको घर अगाडी ठाँउ खोजियो । मेनलाइन मेरो प्राथमिकतामा परेन । किनभने मान्छेले शान्त वातावरणमा शाकाहारी भोजन गर्न भन्ने मेरो सोच थियो । त्यसैले अलि भित्र खोलेको थिए । मेरो चिनजानका छक्क परे । कसरी स्वीट्स चल्छ ? केन्द्रदेखि पनि भित्र भएपछि । चिया–समोसा खान कसरी ग्राहक जालान ? मेरो मामा पर्नु हुने भट्टराई हुनुहुन्थ्यो । उहाँले अब भान्जा डुब्छ भन्ने सोचेका थिए ।

उद्घाटनकै बेलुकी साझमा एउटा नागसर्प पसलको अगाडी हुदै गयो । म उभिरहेको थिए । त्यतिखेर एकजना मेरो साथीले भन्यो ‘यो सर्प पश्चिदेखि पूर्वतिर गयो । यो तेरो लागि शुभ संकेत हो भन्यो ।’ त्यसले मलाई हौसला बढायो । त्यो संकेत शुभ होस् या अशुभ । त्यसले मेरो व्यापारमा ठुलो महत्व राख्यो । त्यो दिनदेखि मेरो आफ्नो औकात, हैसियत, क्षमतालाई अगाडी बढाउने क्रममा पछाडी फर्केर हेर्नुपरेको छैन ।

शुरुमा संगम स्वीटमा कति लगानी गर्नुभयो ?
त्यतिखेर दमकमा काठको तक्ता ओछ्याएर शोकेस नभएपनि मिठाइ बिक्री गर्ने चलन थियो । मैले त्यो चलन तोडेको थिएँ । मेरोमा शोकेसभित्र मिठाइ हुन्थ्यो र त्यो नौलो थियो । फ्रीज, शोकेस, डिफ्रीजमा ५ लाख रुपैयाँ लगानी भएको थियो । होटलको सम्पुर्ण आवश्यकता पुरा गरेको थिए ।

त्यसपछि अर्को आउटलेट कहाँ खोल्नुभयो ?
त्यसयता संगमा शाकाहारी भोजनालयको व्यवसाय वृद्धि हुदै गयो । कहीँ शाखा खोलिन । कोइलालाई ५/७ वर्षसम्म निरन्तरता दिएँ । मैले दोस्रो शाखा करिब ८ वर्षपछि काठमाडौंको कमलादीमा खोलेँ । त्यो बीचमा मैले टीभीएस मोटरसाइकलको डिलरशिपहरु पाएको थिए । बजाजले पनि अफर गर्यो । बजाजको डिलर २०६२ सालमा पाए । बीचमा केही नकेही गरिरहेको थिएँ । बजाजको डिलरशिप अहिले पनि छ । संगम स्वीटको दोस्रो शाखा कमलादीमा खोलेँ । तर म त्यसै बसिन । केही नकेही नयाँ ब्यापारहरु गर्दै गएँ । कमलादीपछि बानेश्वरमा अर्को शाखा खोलेँ । कमलादीमा शाखा बिस्तार गर्ने क्रममा पनि सो स्थानमा मान्छेको समुह हिड्दैन थिए । गाडीबाट मात्रै हिड्थे । जहाँ बसपार्क पनि छैन, मान्छेको भीडभाड पनि थिएन । कुनै मल तथा जमघट स्थान थिएन । कसरी चल्छ ? भन्ने प्रश्न आएको थियो । अहिले छेउमा अर्को दुई ओटा त्यस्ता होटल खुलिसकेका छन् । त्यसबेला मैले छनौट सहि स्थानमै गरेको रहेछु भन्ने लाग्छ ।

काठमाडौंमा जम्मा तीन ओटा शाखा छ । अर्को कालिमाटीमा छ । राजधानीबाहिर दमकमा, बिर्तामोडमा र उर्लाबारीमा छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ भवन बन्दैछ । त्यहाँ पनि खोल्ने तयारी भइरहेको छ । सायद अबको तीन महिनामा उक्त बिल्डीङ सकिएला । हामी संगमको आउटलेट खोल्न तयारी अवस्थामै छौं ।

त्यसपछि विस्तारै अघि बढ्छौं । यद्यपी मैले चाहेँ भन्दैमा हुदैन, २÷४ वर्ष खोल्दिन भनेको कुरा २/४ महिनामै पनि खोल्ने अवस्था आउन सक्दछ । समयले आफै जुराउने हो । म पहाडको मान्छे । मेरो यो नौलो कामले गर्दा मलाई सबैतिरबाट सहयोग । हौसला दुबै छ ।

तपाईले ५ लाखदेखि शुरु गर्नुभएको संगम स्वीटको भ्यालु अहिले कति पुग्यो ?
मेरो सबै आउटलेटलाई पनि जोड्ने हो भने ५ करोड रुपैयाँ नाघ्छ । संगमबाट ३ सय जनाले रोजगारी पाएका छन् । हामीले सरकारलाई नियमित रुपमा कर तिरी राखेका छौं । हाम्रोतर्फबाट सरकारलाई राम्रै सहयोग पुगेको छ । मैले शाकाहारी खानामा लतै बसाइ दिएको छु । त्यस्तो कुरा मैले भन्दा पनि समाजले महशुस गर्ने हो । हाम्रोमा निम्नदेखि उच्च स्तरको ग्राहकले ननभेजिटेरीयन विभिन्न आइटम खानाको परिकार खान सक्छन् ।

हाम्रो उद्देश्य नै २०/२५ रुपैयाँको ग्राहकदेखि ५ हजार रुपैयाँ पनि खर्च गर्नेलाई समेत समेट्न सकौं भन्ने हो । अहिले पनि नीति त्यही नै हो । हामीले अहिले उपलब्ध गराउदै गरेको आइटम सिल्गौडी लगायत अन्यमा खाएभन्दा सस्तो छ ।

संगममा के–कस्ता शाकाहारी खाना उपलब्ध छन् ?
साउथ इण्डियन, नर्थ इण्डियन, चाइनीज कन्टिनेन्टल, स्वीट्स, कोलड्रीङ्स कुनै पनि ग्राहक स्वीट्समा आएर आफुले चाहे अनुसारको ननभेजिटेरीयन परिकार खान सक्छन् । गुणस्तरमा हामी सम्झौता गर्दैनौ । हामी खानामा कुनै पनि वस्तु मिसावट गर्दैनौं । जसको ३ कारण छ । सकभर मिसावटयुक्त खरिद गर्दैनौं । किनभने एक मसँग मिसावट सम्बन्धि ज्ञान छैन । जब त्यसको ज्ञान छैन किन मिसावट गर्ने अर्को आवश्यक पनि छैन ।

दोस्रो संगम स्वीटले मेरो परिवारलाई न्युनतम आवश्यकताहरु पुर्याइदिएको छ । आज ६ ओटासम्म आउटलेट भइसकेको छ । अब किन मिसावट गर्नुपर्यो ? तेस्रो आमाको इमान्दारीताको संस्कार हो । अहिले आमाले दिएको संस्कारनै मेरो सबैभन्दा ठूलो सम्पत्ति भएको छ ।

सामान्य व्यक्तिले यतिको ठुला चेन रेष्टुराँ खोल्नु भयो अहिले जागिर खोज्दै हिडेकाहरुलाई तपाईको सुझाव केछ ?
म यसमा चिन्तित छु । अब समाजलाई राम्रो प्रभाव पर्ने काम गर्ने मेरो सोच छ । हामीले प्रभाव पर्ने गरी ठोस काम गर्नुपर्छ । मुलुकमा करिब ३ करोड जनसंख्या छ । मलाई लाग्छ यहाँबाट रोजगारीमा १ जना पनि मुलुकबाहिर जान पर्दैन । यहाँ जागिर र व्यवसाय दुबै छ । भने पनि यहाँ दिनरात किसानी गरेर आफैसँग बसी आयआर्जन गर्नेभन्दा विदेश जानुलाई प्राथमिकता दिन्छन् । हामीले साइकलमा कार्टुन जम्मा गर्नेदेखि लिएर सबै कामको कदर गर्नुपर्छ । तर, त्यो गरेनौं । मिडियाले पनि तरकारी फलाएर, बेचेर उदाहरणिय बनेकाहरुलाई सम्मान गर्नुपर्छ ।

म सिन्धुली वीपी राजमार्ग हुदै पुर्वजाने र आउने गर्छु । त्यो बाटोमा अहिले पनि राम्रो चिया बनाउने १०० ओटा पसल चल्छ । मुलुकमा व्यवसायको अपार सम्भावना छ । मुलुक आफै धनी छ । विदेश् हेरी नेपालमा धेरै राम्रोे सम्भावना छ । पछिल्लो राजनैतिक परिवर्तनले आश जगाएको छ । मान्छेमा धैर्यता हुनुपर्छ । अहिले यहाँ इमान्दारीपुर्वक जागिर खाने मान्छेले २०/२५ हजार कमाउन समस्या पर्दैन । पर्याप्त जागिरको सम्भावना छ । मुलुकको माया गर्नेहरुलाई स्वदेशमै राख्नुपर्छ । निजी क्षेत्रले पनि त्यसको लागि भूमिका खेल्नुपर्छ ।

यहाँ सफल व्यवसायी बन्नु भएको छ, यहाँले व्यवसायलाई विविधिकरण र अघि बढाउन के कस्ता योजना बनाउनु भएको छ ?
जुन क्षेत्रमा सम्भावना छ । त्यो क्षेत्रमा विजनेश बढाउदै लान्छु । जसरी मैले भेजिटेरीयन स्वीट खोले त्यसरी नै सके भने संगम नामबाटै होटल एण्ड लज खोल्ने इच्छा छ । सुद्ध साहाकारी मात्रै होटल एण्ड लज हुनेछ । यो काम मेरा लागि चुनौतिपुर्ण छ । यद्यपि चुनौतिसँग सामना गर्ने इच्छा छ । त्यसको लागि कडा गृहकार्य गरिरहेको छु । जहाँ–जहाँ संगम स्वीट छ । त्यहीँ स्थानहरुमा पहिले त्यस्ता होटलहरु खुल्नेछन् ।