नारायणगढ-मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ, सडक फराकिलो हुने

  २०७५ वैशाख ६ गते १४:२७     विकासन्युज

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ ।

मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो ।

नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ ।

यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उनले बताए । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ ।

सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताए । उनका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ ।

सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.