जेठदेखि नेपालमा चिनियाँ गुणस्तरको सिमेन्ट उत्पादन हुदै, बजारमा वार्षिक २६ लाख टन थप

  २०७५ वैशाख ६ गते ९:४५     विकासन्युज

काठमाडौं । नेपालमा उत्पादित चिनियाँ गुणस्तरको होङसी शिवम् सिमेन्ट बेच्ने हो ? अब धेरै दिन छैन, चिनियाँ र नेपाली संयुक्त लगानीमा स्थापना भएको होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले आउदो जेठको दोस्रो सातादेखि चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ ।

कम्पनीले चिनियाँ र नेपाल गुणस्तर मापदण्ड अनुसार सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको छ । उद्योगले देशभर ४६ सिमेन्ट वितरक नियुक्तिको तयारी थालेको छ । सिमेन्टसंगै होङसीले १२ मेगावाट क्षमताको तापीय प्लाण्टबाट ऊर्जा पनि उत्पादन गर्ने भएको छ । उद्योगले दैनिक ६ हजार र वार्षिक २६ लाख टन उत्पादन गर्ने जानकारी दिएको छ ।
१३ करोड टन उच्चगुणस्तरको आफनो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरिएको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ ।

उद्योगले हेटौडादेखि नवलपरासीसम्म १५२ किलोमिटर टाढाबाट सिमेन्ट उत्पादन गर्न आवश्यक दैनिक ३ हजार टन चुनढुङा आपूर्ति अप्रिल १४ तारिखदेखि गर्ने भनेको छ । उसले चुनढुङा आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ ।

होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ ।

गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ ।

चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.