खानेपानीमन्त्रीले भनिनः ६ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ

  २०७५ वैशाख ५ गते १९:२२     विकासन्युज

काठमाडौ । खानेपानीमन्त्री विना मगरले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकी छिन् ।  काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दे उनले राजधानी लगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको जानकारी दिइन्।

“छ महिनापछि मेलम्चीको पानी वितरण शुरु भएपछि राजधानीको खानेपानी समस्या समाधान हुन्छ, चार घण्टासम्म भएपनि पानी दिन सकिने अहिलेको अनुमान छ, मेलम्चीको १७ करोड लिटर पानी उपत्यकाका धेरै स्थानमा पु¥याउने मन्त्रालयको लक्ष्य छ”–उनले भनिन्।

मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरै भन्दा धेरै घरमा वितरण गर्ने तयारी गरेको सुनाए।

कार्यक्रममा बोर्डका अध्यक्ष एवम् खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधानका लागि याङ्री र लार्केलाई पनि सफल रुपमा उपत्यका ल्याउनुपर्ने धारणा राखेका थिए।

मेलम्ची, याङ्री र लार्केको समेत पानी राजधानी ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा वितरण गरिन्छ । उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि विसं २०६२ वैशाख ५ गते बोर्डको स्थापना भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.