सेयर बजार ३१ अंकले बढ्दा १ अर्बबढीको कारोबार, लगानीकर्ताको विश्वास बढेकै हो ?

  २०७५ वैशाख ५ गते १५:४६     विकासन्युज

काठमाडौं । नयाँ वर्ष शुरु भएपछि सेयर बजार बढ्न थालेको छ । बजारमा सुधार आएपछि लगानीकर्ताको विश्वास पनि बढेको छ ।

लगातार घट्दै गएको बजारले निराशा बनाएको लगानीकर्तालाई आइतबारदेखिको वृद्धिले आशा जगाएको छ । निरन्तर बढ्दै गएको बजार बुधबार पनि ३१ अंकले बढेर १३६३ अंकमा पुगेको छ ।

बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा वृद्धि देखिएको छ । बुधबार मात्रै सेयर बजारमा १ अर्ब १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम एकवर्ष यताकै उच्च हो ।

सो दिनको बजारमा १६५ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । केही दिनयता सेयर लगानीकर्ताको विश्वास बढ्दै गएकाले बजारमा सुधार आएको विश्लेषकहरु बताउछन् ।

बुधबार ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी न्याङदी ग्रुप पावर, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ९.९५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ९.९०, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९.८६, कर्णाली डेभलपमेन्ट बैंकको ९.८४ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, हथवे फाइनान्स कम्पनी, सिनजी पावर डेभलपमेन्ट र राधी विद्युत कम्पनीका लगानीकर्ताले क्रमशः ९.६६, ९.५६ र ९.५४ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४.२७ प्रतिशतले घटेको छ ।

बुधबार कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । त्यसमध्ये सबैभन्दा बढी हाइड्रो समूहको सूचक १०७ अंकले उकालो लागेको छ । ट्रेडिङ, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् भने बाँकी समूहहरु दोहोरो अंकले बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.