नाफाको हिस्सा खोजिन्न, लगानीको सुरक्षा पक्का

२०७५ वैशाख ३ गते १४:१० चंकीकुँवर क्षेत्री

समय र समाजसँगै विकास निर्माण पनि गतिशिल हुन्छ । जतिबेला राणाहरुले काठमाडौंमा गाडी बोकेर ल्याएका थिए, त्यतिबेलाको सडकले अहिलेको सवारी चाप धान्न सक्दैन । हामीले विगतको आलोचना मात्र गरेर हुँदैन, भविष्यबारे दृरदृष्टि लगाएर काम गर्नुपर्छ ।

नेपालमा विकास नभएको होइन । तर योजनाबद्ध र उचित व्यवस्थापनसहितको विकास हुन सकेको छैन । भारतमा यतिबेला भ्रष्ट्राचारीलाई कारवाही गर्ने निकायको मागसहित हड्ताल भईरहेको छ तर नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग धेरै पुरानो र बलियो संस्था यसअघि नै छ ।

नेपालका आफ्नै समस्याहरु छन् । नागरिकका आवश्यकता, आकांक्षाहरु धेरै छन् । त्यसलाई बुझ्ने, आवश्यक निर्णय लिन सक्ने र निर्णयलाई कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता छ । सिंगापुर, मलेसिया, चीनको विकासमा त्यहाँको राजनीतिक नेतृत्वको ठूलो भूमिका रहेको देखिन्छ । तर नेपालको विकासमा नेतृत्व गर्ने त्यस्तो नेतृत्व अहिलेसम्म स्थापित हुन सकेको छैन ।

वर्तमान सरकार, त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अवसर पाएका छन् । वर्तमान पुस्ताले मात्र होइन, हाम्रा सन्ततीले पनि उनको नाम स्मरण गरिरहुन्, उनलाई सम्मान गरिरहुन् । उनका प्रयासहरु सकारात्मक देखिएका छन् ।

सरकारले देशविकासको लागि बनाउनुपर्ने पूर्वाधार निर्माण, नागरिकलाई दिने सुरक्षा, न्याय, प्रसाशनिक सेवा आफ्नो ठाउँमा हुन्छ भने निजी क्षेत्रको भूमिका आ–आफ्नो ठाउँमा निकै महत्वपूर्ण हुन्छ । सरकारले गर्नु पर्ने काम गर्दैमा समृद्धि हासिल हुँदैन, निजी क्षेत्रले गर्नु पर्ने काममा निजी क्षेत्र पनि जिम्मेवार बन्नुपर्छ ।

समृद्धिको लागि रोजगारी र आयस्तर वृद्धिमा जोड दिनुपर्छ । त्यसको लागि लगानी आवश्यक हुन्छ । निजी क्षेत्रले लगानी गर्नुपूर्व लगानीको सुरक्षा र मुनाफाको सुनिश्चितता खोज्छ । साथै, लगानीको लागि प्रयाप्त पुँजीको उपलब्धता हुनुपर्छ ।

नेपालमा अन्य क्षेत्रको तुलनामा बैकिङ क्षेत्र अगाडि बढेको छ । यस क्षेत्रमा ठूलो लगानी आयो । श्रमले पनि राम्रो प्रतिफल पाएको छ । दक्ष जनशक्ति यसतर्फ आकिर्षत भएको छ । नियम, कानुन र नियमले संस्थागत विकासमा राम्रो सहयोग पनि पुगेको छ । ठूला उद्योग र परियोजनाको लागि बैंकिङ सेवाको उपलब्धता बढेको छ ।

अब लगानीकर्ताले खोज्ने भनेको लगानीको सुरक्षा हो । सुरक्षाको लागि बीमाको महत्वपूर्ण भूमिका हुन्छ । बीमा भनेको जीवन र सम्पत्तिको सुरक्षा गर्न मात्र गरिदैन, लगानीको सुरक्षाको लागि पनि बीमा हुन्छ । तर लगानीकर्तामा आफ्नो लगानीको सुरक्षाको लागि बीमा गर्नुपर्छ भन्ने ज्ञानको कमी छ । बैंकले कर्जा लगानी गर्नुपूर्व अनिवार्य बीमा खोज्छ, तर लगानीकर्ताले आफ्नो स्वपुँजीको बीमा गर्ने र जोखिम न्यूनिकरण गर्ने कार्य गर्दैनन् । २०७२ सालको भूकम्पले ७ लाख अवासीय घर तथा सरकारी भवन भत्कायो । सरकारले आफ्नै भौतिक संरचना र सम्पत्तिको बीमा नगरेको पाइयो । निजी सम्पत्तिको बीमा पनि बैंक कर्जा बराबर भ्यालु बराबर मात्र बीमा अभ्यास छ । कम बीमा हुँदा हुँदै पनि भूकप्प पीडितलाई बीमा कम्पनीहरुले करिव १३ अर्ब रुपैयाँ क्षतिपूर्ति दिए । बीमा राम्रोसँग भएको थियो भने उनीहरुले ठूलो राह्रात पाउने थिए ।

जीडीपीमा बीमाको योगदान करिव २ प्रतिशत रहेको छ । यो आफैमा कम होइन । तर यसलाई बढाउन सकिने ठाउँ प्रशस्त छ । बीमाको पेनिट्रेशन करिब ८/१० प्रतिशत मात्र रहेको अनुमान छ । जसरी जीवन बीमा गर्दा निश्चित आयमा कर छुट छ त्यसरी नै लगानीको बीमा गर्दा वा घरको बीमा गर्दा निश्चित कर छुट गरिदिने हो भने बीमाको अभ्यास जनस्तरमा पुग्छ । राजधानीमा एक करोडभन्दा कम मूल्यको घर हुँदैनन् । तर अधिकांश घर बीमा भएका छैनन् ।

स्वास्थ्य बीमामा पनि यस्तै नीति आवश्यक छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्यो । यो स्वागत योग्य नीति हो । तर पछिल्लो समय सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा नविकरणको दर कम भएको छ । यही काम बीमा कम्पनीहरु मार्फत गरिएको थियो भने फलोअप राम्रो हुने थियो, नविकरण दर बढी हुने थियो ।

मुलुक संघीयतामा गएसँग प्रदेश सरकार र स्थानीय सरकारबीच जनतालाई राम्रो सेवा दिने प्रतिस्पर्धा हुने देखिएको छ । जनप्रतिनिधिहरु बीमा कम्पनीको शाखा र बीमा सेवा माग गर्दै कम्पनीहरुमा आउन थालेका छन् । यो धेरै सकारात्मक विषय हो । बीमा कम्पनीहरुले पनि आफ्नो सेवा र सेवाको स्तर वृद्धि गर्ने प्रतिस्पर्धामा छन् । पाँच वर्षअघि निर्जीवन बीमा कम्पनीको शाखा १०/१२ वटा थिए भने अहिले ५०/६० वटा भएका छन् । अझै धेरै जिल्लामा बीमा कम्पनीहरुले शाखा विस्तार गर्न बाँकी छ ।

बीमाले नाफाको हिस्सा खोज्दैन । बीमाले जोखिमको हिस्सा खोज्छ । संकटको बेलामा, क्षतिको बेलामा सहयोग गर्छ । बीमा सेवा नै यस्तो सेवा हो जहाँ सेवा प्रदायक कम्पनीहरुले आफ्ना ग्राहकलाई कहिल्यै नोक्सान नहोस्, उनीहरु सुरक्षीत हुन् भन्ने चाहान्छन् । नोक्सान भईहाल्यो भने नोक्सानीको ठूलो हिस्सा बीमाले स्वीकार गर्दछ ।
(क्षेत्री सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्)