१७ हजार बिरामीले पाए निःशुल्क उपचार, मिर्गौला, मुटु, क्यान्सरको उपचार लिनेको संख्या तेब्बर बढे

  २०७४ चैत २८ गते १३:३६     राजाराम न्याैपाने

काठमाडौँ । सरकारले १ वर्षमा १७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स र सिकलसेल एनिमिया लगायत विभिन्न ८ प्रकारको रोगबाट पीडित १६ हजार ८६० विरामीले निःशुल्क उपचार गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागकाअनुसार यो वर्ष मात्रै ५ हजार ८८८ जनाले मिर्गौला रोगको निःशुल्क उपचार पाएका छन् । वीर अस्पतालबाट मात्रै २ हजार ६४६ जनाले उपचार पाएका हुन् । मोरङको नेपाल स्वास्थ्य विकास एण्ड रिर्सच सहकारीबाट ४ जनाले मिर्गौलाको उपचार गराएका छन् ।

यसैगरी ५ हजार ८२१ जनाले क्यान्सरको उपचार गराएका छन । ३ हजार ५७७ जनाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका छन् ।

हेड इन्जुरीतर्फ जम्मा ८२ जनाले निःशुल्क उपचार पाएका छन्, सिकलसेल एनिमियो १३० जना, पार्किन्सन्सको १६, अल्जाइमर जम्मा ११ जनाले उपचार पाएका छन् । अघिलो आर्थिक वर्ष २०७३÷७४ मा सरकाले विभिन्न ६ वटा रोगका ६ हजार १८० जनाले निशुल्क उपचार पाएका थिए ।

उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्धेश्यले निःशुल्क उपचारका लागि व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

क्यान्सर रोगको उपचारका लागि क्यान्सर केयर अस्पताल जावलाखेल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल चितवन, कान्ति बाल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सिभिल अस्पताल नयाँबानेश्वर र महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि प्रसूति गृह थापाथली लगाएतका अस्पतालहरु तोकिएको छ ।

यस्तै मिर्गौला रोगको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताल लगाएतलाई तोकिएको छ ।

मुटु रोगको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी र मनमोहन कार्डियाक अस्पताल काठमाडौं लगाएतका अस्पतालहरु तोकिएको छ ।

सिकलसेल रोगको उपचार गर्न नवलपरासी जिल्ला अस्पताल, बुटवल अञ्चल अस्पताल, कपिलबस्तु अञ्चल अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल बाँके, धनगढी अञ्चल अस्पताल, गुलरिया जिल्ला अस्पताल र महाकाली अञ्चल अस्पताल महेन्द्रनगर लगाएतका अस्पतालहरु तोकिएको छ ।

हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्याको निःशुल्क उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल र पाटन अस्पताल लगाएतका अस्पतालहरु तोकिएको छ ।

यस्तै पार्किन्सन्स, अल्जाइमरको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताल लगाएतका अस्पतालहरु तोकिएको छ । पायक पर्ने अस्पतालमा शैया नपाएमा वा विभिन्न कारणवस त्यहाँ भर्ना हुन नपाएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने व्यवस्था गरिएको छ ।

सरकारले आठ प्रकारका ठुला र बढी खर्च लाग्ने रोगलाई निःशुल्क भनेको छ । तर, उपचारका क्रममा लाग्ने सबै खर्च भने सरकारले व्यहोर्दैन ।

यसरी सिफारिस गरिएका अस्पतालमा विरामीले उपचार लिए वापत सो अस्पतालले विभागमा माग सोध भर्ना गरी उपचारमा खर्च भएको रकम प्राप्त गर्नेछ ।

त्यस्ता अस्पतालले प्रत्येक महिना अस्पतालमा भर्ना भएका वा उपचार लिएका विरामीको संख्याका आधारमा विभागसँग रकम लिँदै आएको छ । त्यसका लागि विभागले अर्थ, गृह र स्वास्थ्य सचिव, विभागका निर्देशक, लगायतका पदाधकारीसहितको बैठक बसी रकम निर्धारण गरेर अस्पताललाई रकम दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.