टाईसुट लगाएर मात्र राम्रो होइन्न,मुटु बलियो हुनुपर्छ – सीर्इअाे शोभनदेव पन्त

  २०७४ चैत २५ गते ११:२२     विकासन्युज

शोभनदेव पन्त, प्रमुख कार्यकारी अधिकृत, बैंक अफ काठमाण्डू लिमिटेड

शोभनदेव पन्त करिव आठ महिना अघिदेखि बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । व्यवस्थापन विषयमा मास्टर डिग्री हासिल गर्दा त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट भएर ‘गोल्ड मेडल’ पाउनु भएका पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा काम गर्दै आउनु भएको छ । संकटमा पुगेको लुम्बिनी बैंकलाई स्वस्थ्य बैंकको रुपमा रुपान्तरण गर्न सफल भएका, संस्थागत सुशासनमा खरो रुपमा उत्रने र वृहत अर्थतन्त्रबारे पनि अध्ययन र विश्लेषण गर्ने भएकाले बैकिङ क्षेत्रमा उहाँको नाम निकै आदरपूर्वक लिइन्छ ।

बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । त्यसपछि पनि बैंकको चुक्ता पुँजी राष्ट्र बैंकको सीमाअनुसार न्यूनतम ८ अर्ब रुपैयाँ पुग्दैन । पछिल्लो वर्षमा यस बैंकको व्यवसाय वृद्धि पनि निकै सुस्त छ । बैंकहरुको भीडमा एक दशकअघि बैंक अफ काठमाण्डूको जति चर्चा हुन्थ्यो, अहिले त्यति छैन् । कुनै समय यस्तो थियो, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बढी सेयर कारोबार हुने कम्पनीहरुको सूचिमा जहिले पनि बैंक अफ काठमाण्डूको नाम आउँथ्यो । अचेल यस्तो सूचिमा बैंकको नाम विरलै देखिन्छ । बैंक अफ काठमाण्डू के गर्दैछ ? यहाँ भित्रको समस्या के हो ? प्रस्तुत छ विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलेले पन्तसँग गरेको विकास वहस ।


बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएर पनि राष्ट्र बैंकले तोकेको समयभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेन, यसको कारण के होला ?

६१ लाख कित्ता संस्थापक सेयर बढाबढ मूल्यमा बिक्री गर्यौ । त्यसबाट ६१ करोड रुपैयाँ पुँजी थपियो र अहिले बैंकको पुँजी ६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । संस्थापक सेयर लिलामी गर्दा करिव ९३ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । गत आर्थिक वर्षको नाफा ८२ करोड ७५ लाख रुपैयाँ छ । गत वर्षको वासलात बैंक सञ्चालक समितिबाट स्वीकृत भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आउन मात्र बाँकी छ । यी सबै गरेर चुक्तापुँजी ८ अर्ब २८ लाख रुपैयाँ हुन्छ । ८ अर्ब पुँजी पुगेन भन्ने समस्या बैंक अफ काठमाण्डूमा छैन ।

९३ करोड प्रिमियमलाई चुक्ता पुँजी कसरी गणना भयो ?

पुँजी भनेको सेयरधनीको पैसा हो । प्रिमियम बापत आएको पैसा सेयरधनीको पैसा हो । त्यो पैसा बैंकको खातामा जम्मा भईसकेको छ । त्यसलाई पुँजी नमान्नु पर्ने कुनै कारण नै छैन । कुनै पनि नर्मस्बाट त्यो पुँजी हो । प्रिमियमबाट जम्मा भएको ९३ करोड रुपैयाँ पुँजीको रुपमा नै लिनुपर्छ भनेर हामीले राष्ट्र बैंकलाई अनुरोध गरेका छौ ।

त्यो ९३ करोड रुपैयाँलाई अहिले नै इक्विटिमा कन्भर्ट गर्न मिल्दैन थियो ?

तपाईको प्रश्नलाई यसरी बुझौ । हामीले एफपीओको प्रक्रिया १ वर्ष अघिदेखि नै गरेका थियौ । यो विषयमा राष्ट्र बैंक लगायत सबै नियामक निकायहरु जानकार छन् । तर विभिन्न कारणले त्यो प्रक्रियाले लामो समय लियो र केही महिनाअघि मात्र सम्पन्न भयो । हामीले गत असार मसान्तको वासलातलाई अन्तिम रुप दिदैछौं । अवस्था के हो भने राष्ट्र बैंकले तोकेअनुसार पुँजी खातामा आईसकेको छ, एउटा शिर्षकबाट अर्को शिर्षकमा लैजान मात्र बाँकी हो । त्यसैले यसलाई रिकक्नाईज गरेर जान हामीले राष्ट्र बैंकलाई अनुरोध गरेका छौं । मलाई लाग्छ, राष्ट्र बैंक पनि यसमा सहमत हुन्छ ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्जरले यो बैंकलाई के फाइदा भयो ?


पहिलो फाइदा भनेको चुक्ता पुँजी पुर्याउनको लागि हकप्रद सेयर निष्काशन गर्नु परेन । २०७५ असार मसान्तको नाफाबाट हामीले सेयरधनीलाई नगद लाभांश दिनेछौं । मर्जरपछि विजनेश कन्सोलिडेशन भएको छ । ट्यालेन्ट कन्सोलिडेशन भएको छ । खर्च घटाउने र इफिसियन्सि बढाउने काम भएको छ । कस्टुमरबेस राम्रो भएको छ । सेवा दिने क्षमता विकास भएको छ । गाडी आफ्नो कुसन, एब्जर्व क्यापासिटी मेन्टेन गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

बैंकले आगामी वर्ष सेयरधनीलाई कति लाभांश दिन सक्छ ?

सेयरधनीलाई औषत १०/१५ प्रतिशत लाभांश दिन सकिन्छ । ४/५ वर्षपछि २० प्रतिशतसम्मको लक्ष्य लिएर काम गरिहेका छौं ।

बैंक अफ काठमाण्डूको विजनेश ग्रोथ ज्यादै कम भयो, यो बैंक ज्यादै टेडिशनल भयो भन्ने टिप्पणी बजारमा सुनिन्छ । व्यालेन्ससिटले पनि त्यो देखाउँछ । किन यस्तो भईराखेको छ ?

सबै गाडी प्रतिघण्टा १२० किलोमिटरको गतिमा गुड्छन् भन्ने छैन । सबै गाडी दुर्त गतिमा गुड्नुपर्छ भनेर हामीले सोच्नु पनि हुँदैन । गाडीको अवस्था कस्तो छ, सडकको अवस्था कस्तो छ ? ब्रोकिङ सिस्टम कस्तो छ ? गाडीको इन्जिन कस्तो छ ? फ्यूल कस्तो छ ? यी सबै विषयमा चालक सचेत हुनुपर्छ ।

बैंकको विजनेश हरेक वर्ष ४० प्रतिशत, ५० प्रतिशत, ६० प्रतिशतले हुनुपर्छ, नाफा पनि त्यसरी नै बढ्नुपर्छ, सेयरधनीले पनि त्यत्तिकै नाफा पाउनु पर्छ भनेर सोच्नु नै गलत हो । बैकिङ क्षेत्रको ग्रोथ भनेको आर्थिक वृद्धिसँग तुलना गरिनुपर्छ । देशको आर्थिक नीति कस्तो छ ? मौद्रिक नीति कस्तो छ ? वृहत अर्थतन्त्रका सूचकहरु कस्ता छन् ? तुलनात्मक रुपमा हेरिनुपर्छ ।

राम्रो बैंकको इण्डिकेटर के हुन् ? नाफा मात्र हो ? बढी नाफा खोज्नुहुन्छ भने जग्गा व्यापार गर्दा होला, सुन, चाँदीको व्यापार गर्दा होला । सीमा क्षेत्रको व्यापार होला । त्यस्तो नाफा बैंकमा खोज्ने होइन । नेपालमा त बैंकहरुले धेरै नाफा दिएका छन् । बैंक अफ काठमाण्डूले १५ प्रतिशत नाफाको कुरा गरेको छ, केही बैंकहरुले ३०/४० प्रतिशत पनि नाफा दिएका छन् । यो त अति धेरै नाफा भयो । विश्वमा वित्तीय क्षेत्रले कति नाफा दिन्छ ? हेरौ न, यूरोपको हेरौ, अमेरिकाको हेरौ, भारतमा नै हेरौं । भारतमा बैंकले १० प्रतिशत नगद लाभांश दियो भने त्यो धेरै राम्रो मानिन्छ । नेपालमा एउटा बैंकले ४७ प्रतिशत लाभांश दियो तर सीईओले बीचैमा राजीनामा दिएर हिड्नु पर्यो । ४७ प्रतिशतले पनि पुगेन । यो तर्कमा पनि बजारले विचार गर्नुपर्छ । कुनै पनि बैंकका सेयरधनीले हरेक वर्ष ४० प्रतिशत पाएका छन् भने त्यसमा अरु कसैले मूल्य चुकाएकै छन् । यस्ता विषय अलिकति भिन्न तरिकाले हेरिनुपर्छ भन्ने मलाई लाग्छ ।

बैंक अफ काठमाण्डूको कुरा गर्नुहुन्छ भने यो बैंक दिगो रुपमा अगाडि बढिरहेको छ । आजै बढी लाभांश खाने भन्दा पनि आगामी सयौं वर्षसम्म दिगो रुपमा सञ्चालन हुने योजनामा अगाडि बढिरहेको छ । अगाडिको सडकमा खाल्टाखुल्टी हुन सक्छ, भिजिविलिटी कम हुन सक्छ, त्यो अवस्थामा पनि जोखिममा नपर्ने तरिकाबाट यो बैंकलाई ड्राइभ गर्दैछौं । हामी ऋणको कर्जा क्वालिटीमा, एसेटको क्वालिटीमा हामीले धेरै ध्यान पुर्याएका छौं । यस बैंकको पुँजी २ अर्ब हुँदा पनि लाभांश स्थिर थियो, ८ अर्ब पुँजी भएपछि पनि लाभांश स्थिरनै हुनेछ ।

पुँजीबादी अर्थव्यवस्थामा ठूलो संस्था हुनु र बढी लाभांश दिनुलाई नै राम्रो मानिदो रहेछ । त्यसैले विओके किन सानो भएर बस्ने ? यो बैंकले किन थोरै लाभांश बाँड्ने ?
तपाईको प्रश्न स्वभाविक हो । सँगसँगै सबै संस्थाको आफ्नै विशेषता हुन्छन्, आ–आफ्नो दृष्टिकोण हुन्छन्, आ–आफ्नो इतिहास हुन्छन् । मलाई लाग्छ, संस्था सानो होस् वा ठूलो, व्यालेन्ससिट प्रुडेन्ट हुनुपर्यो, त्यसभित्रका रिस्क डाइमेन्सनहरुलाई प्रपरली म्यानेज गरिएको हुनुपर्यो । यस्ता संस्था संकटको बेलामा पनि टिक्नेछन् ।

कुनै पनि कम्पनीको सीईओले भनिरहेका हुन्छन् कि मैले नेतृत्व गरेको कम्पनीले अरु कम्पनीको भन्दा राम्रो गरिरहेका छन् । बैंक अफ काठमाण्डू अरु बैंक भन्दा कसरी राम्रो छ ?

टाईसुट लगाएर मात्र राम्रो हुइन्न, मुटु बलियो हुनुपर्छ । बैंक अफ काठमाण्डूको मुटु बलियो छ । एसेट क्वालिटी सलिड छ । विदवाउट एनि हेजिटेशन म यो भन्न सक्छु । लुम्बिनी बैंकको पनि एसेट क्वालिटी राम्रो थियो, विओकेको एसेट क्वालिटी पनि राम्रो छ । कस्टुमर बेस राम्रो छ, त्यो पनि क्वालिटी कस्टुमर । दुबै बैंकका ट्यालेन्ट योङ एण्ड स्मार्ट स्टाफ छन् । हामीले स्टाफ ट्रेनिङमा ठूलो लगानी गरेका छौं । सिष्टम राम्रो छ । सर्भिस क्वालिटी राम्रो छ ।

सर्भिस क्वालिटी राम्रो छ भन्नुभयो, ऋणिलाई ३/३ महिनामा ब्याज बढाउने बैंकिङ क्षेत्रको रोग यो बैंकमा छ कि छैन ?

बैंक अफ काठमाण्डूले ब्याजदर बढाएको भन्ने गुनासो तपाईले बजारमा सुन्नु भएको छ ? जुन बैंकले बढी नाफा गर्छ त्यो नाफामा कसैले बढी मूल्य तिरेको हुन्छ । हुनतः बैंकले निक्षेपकर्तालाई बढी व्याज दिए पनि आलोचना हुन्छ, ऋणिसँग बढी व्याज लिए पनि आलोचना हुन्छ । बढी नाफा गर्यो भने पनि आलोचना हुन्छ, कम नाफा गर्यो भने पनि आलोचना हुन्छ । हेर्ने दृष्टिकोण फेयर हुनुपर्यो । तपाईहरुले बैंकहरुको स्प्रेडदर हेर्न सक्नुहुन्छ । विओकेको स्प्रेडदर ३.८ प्रतिशत मात्र छ ।

विगत एक वर्षमा कुनै बैंकले ४० अर्ब निक्षेप बढायो, कर्जा पनि त्यसरी नै बढायो । यहि अवधिमा बीओकेको कर्जा, निक्षेप वृद्धि नै देखिएन, किन ?

गल्ती यहि भएको छ । हामीले बैंकहरुलाई को ठूलो बन्ने भन्ने प्रतिस्पर्धामा दौडाईरहेका छौं । यो नै गलत हो । कुन गाडी बढी कुद्ने भनेर प्रतिस्पर्धा गरायौं भने त्यसले जोखिम निम्त्याउने छ । यस्तो प्रतिस्पर्धाकै कारण हो आज बजारमा धेरै समस्या देखिएको । ब्याजदरमा धेरै उतारचढाव आएको हो ।

बैंकले कति लाभांश वितरण गर्यो, निक्षेप तथा कर्जाको वृद्धि कति प्रतिशतले भयो भन्ने वित्तीय सूचकाङ्कहरु आफैमा महत्वपूर्ण हुन्छन् । वित्तीय संस्थामा हेर्नै पर्ने तर हाम्रो समाजले नहेरेको र नबुझेको विषय के छन् भने बैंकको सम्पत्तिको गुणस्तर कस्तो छ ? बैंकले कति जोखिम बोकिरहेको छ ? के हप्तैपिच्छे ८ वटा शाखा खोल्ने बैंक मात्र राम्रो हो ? मलाई लाग्दैन कि सबै बैंकको शाखा पाँच÷पाँच सय हुनुपर्छ । कुनै पनि देशमा हेर्नु भयो भने कुनै बैंक ठूला हुन्छन्, कुनै साना हुन्छन्, कुनैले उच्च दरको ग्रोथ गरिरहेका हुन्छन्, कुनैले कम दरको ग्रोथ हासिल गरिरहेका ह्न्छन् । सबैले समान वृद्धि हासिल गरेको कँही पनि हुँदैन । सबैलाई स्वतन्त्रता हुनुपर्छ । कोही ५०० शाखा खोल्छन्, कोही १०० शाखामा खुशी होलान्, कोही ४० प्रतिशत लाभांशमा पनि बेखुश होलान्, कोही २० प्रतिशत लाभांशमा पनि खुशी होलान् । के नियामक निकायले सबै बैंकको ५०० शाखा हुनुपर्छ भन्ने ? के सबै बैंकले ४० प्रतिशत नै लाभांश दिनुपर्छ भन्ने ? त्यस्तो हुन सक्दैन ।

यस बैंकको बोर्डमा कहिले देखिने गरी, कहिले सुनिने गरी द्वन्द्व हुने गरेको छ । साथै बैंकले लिने नीतिमा भएको अस्थीरताले पनि बैंक अफ काठमाण्डू प्रतिस्पर्धामा पछाडि परेको बताइन्छ, बास्तविकता के हो ?

सामान्यतया जुनसुकै बैंकका आ–आफ्ना लक्ष्यणहरु छन् । बैंकहरुको स्थापनाको क्रममा विभिन्न कम्बोनेन्ट बनेका हुन्छन् । ती कम्बोनेन्टहरुबीच अलिअलि घर्षण, अलिअलि फ्रिक्सन हुन्छन् । सबै बैंकमा, सबै समाजमा, सबै देशमा यस्तो घर्षण हुन्छ । सकारात्मक परिणाम आउँदासम्म यस्ता घर्षण र फ्रिक्सनलाई स्वभाविक रुपमा लिनुपर्छ । मेरो अनुभवमा यो बैंक स्मूथले चलिरहेको छ ।

भविष्यमा बैंकहरुको ब्याजदर अब कसरी विकसित भएर जाला ?

यो प्रश्न त ज्योतिसलाई सोध्नुपर्ला । बढो गाह्रो छ अनुमान गर्न ।

तपाई त्रिभुवन विश्वविद्यालयको पनि गोल्ड मेडलिष्ट । ३३ वर्षसम्मको बैकिङ अनुभव छ । केही न केही त भविष्यावाणी गर्न सकिन्छ नि ?

एक्सेसिभ ल्याण्डिङ (अधिक कर्जा प्रवाह) जहाँ जहाँ लगानी भएको छ त्यहाँ नियामक निकाय सचेत हुनैपर्छ । केही बैंकको अधिक शाखा विस्तार, अधिक कर्जा प्रवाहले अहिले सबै बैंकमा समस्या भएको छ । अहिले एउटा मात्र बैंकलाई दोष दिएर समस्याका समाधान हुँदैन । जसले जहाँ अधिक लगानी गरेका थिए, त्यतिबेला नै नियामक निकायहरुले के भईरहेको छ भने भनेर हेरिदिएको भए अहिलेको समस्या आउने नै थिएन । अल्पकालिन सोच र योजना, तत्काल र अधिकतम नाफाको खोजी, त्यसैमा आधारित भएर गरिएको अधिकतम कर्जा लगानी अहिलेको समस्या हो । निक्षेप हराएको समस्या होइन, अधिक कर्जा लगानी समस्या हो ।

केही बैंकहरुले २ प्रतिशत व्याजदरमा बचत खातामा प्रशस्त निक्षेप संकलन गरिरहेका छन् । केही बैंकहरुले बचत खातामा ८ प्रतिशत व्याज दिदा पनि निक्षेप पाउन सकेका छैनन् । ६ प्रतिशत नोक्सान खाएर बस्ने निक्षेपकर्तालाई जागरुक गराउन जरुरी छ । विकसित देशमा ०.२५ प्रतिशत ब्याज फरक पर्दा निक्षेपकर्ताले जसले बढी दिएको छ, त्यसमा निक्षेप राख्छन् । तर हामीकहाँ ६ प्रतिशत फरक पर्दा पनि पैसा यताको उता गर्दैनन् । बजारमा यस्तो धेरै समस्या छन् जसको समाधान हामीले पनि गर्न सकेका छैनौ । सुरक्षाको कुरा गर्नु हुन्छ भने आज २८ वटै बैंकको सुरक्षाको मापदण्ड एउटै हो । सीसीडी रेसियो, क्यापिटल एडेक्वसी सबैको लागि समान नियम हो ।

मुलुकको आर्थिक वृद्धि दर र बैकिङ क्षेत्रको वृद्धिदरबीचको अन्तर सम्बन्ध कस्तो हुनुपर्ने हो ?

जीडीपी ग्रोथ र फाइनान्सियल सेक्टरको ग्रोथबीच कुनै न कुनै प्रकारको सम्बन्ध हुन्छ । तर हामीकहाँ धेरै फ्याक्टरले काम नगरेको अवस्था पनि देखिन्छ । तर हामीकहाँ धेरै कुरा मिल्दैन । जीडीपी ग्रोथ र बैंकहरुको लागि चार गुणासम्म पुँजी वृद्धिको ग्रोथलाई हेर्ने हो मेल खाँदैन । पुँजी वृद्धिको ग्रोथ अनुसार विजनेश ग्रोथ नहुँदा बैंकहरुले पछिल्लो समय ठूलो समास्या भोग्नु परेको छ । हामीकहाँ निक्षेपको वृद्धि रोकिएको छैन तर लगानी योग्य पुँजीको अभाव छ । किनभने निक्षेप परिचालन भन्दा कर्जा लगानी विस्तार उच्चदरमा बढी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.