वैशाख दोस्रो सातादेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, २५० स्टल रहने

  २०७४ चैत १८ गते २०:१५     विकासन्युज

काठमाडौं । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ । वैशाख १४ देखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले कार्यक्रममा बताए ।

मेलालाई बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव लगायत कार्यक्रमले थप आकर्षण बनाउने मेला संयोजक मोहन कटुवालले बताए ।
नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई मेलामा समावेश गरिन उनको भनाइ छ ।

प्रदर्शनीकै बीच वैशाख १५ गते नेपाल चाइना कार्यकारी परिषदको सहकार्यमा नेपालमा चाइनिज लगानी प्रवर्धन गर्न चाइनिज लगानीकर्ता सम्मिलित ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को सन्दर्भ पारेर बीटुबी कार्यक्रम आयोजना गरिने महासंघको भनाइ छ ।

त्यसैगरी, सार्क मूलुकका लघु घरेलु तथा साना उद्योगहरुको पारिस्परीक हित प्रवद्र्धन गर्न र सार्क स्तरिय नेटवर्क बिस्तार गर्ने उद्देश्यले सन् २००५ मा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका छाता संस्थाहरुको सम्मेलनबाट स्थापना गरिएको साउथ एसियन कन्ट्रिज एसएमइ फोरमको तेस्रो सम्मेलन समेत वैशाख १६ गते हुने आयोजकले जनाएकाे छ ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ ।

२५० वटा स्टल रहने उक्त मेलामा २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाबाट ७ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष भने १० करोड रुपैयाँ अप्रत्यक्ष कारोवार हुने प्रक्षेपण गरिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.