महासंघमा फेरी प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा लबिङ तिव्र, शेखर गाेल्छा अध्यक्ष बन्न राेक्ने कसरत !

  २०७४ चैत १८ गते १३:०१     रामकृष्ण पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा विधान संशोधनको प्रस्ताव आउने भएको छ । २०७३ मंसिर ४ गते संशोधन गरिएको महासंघको विधान १८ महिना नवित्दै फेरी संशोधन गर्न लागिएको हो ।

महासंघको विधान संशोधनको विषयमा छलफल शुरु भएको र आगामी साधारणसभामा विधान संशोधन मागको प्रस्ताव आउन सक्ने महासंघका जिल्ला तथा नगर उपाध्यक्ष किशोर प्रधानले बताए । महासंघले यहि चैत २८ र २९ गते ५२औं वार्षिक साधारणसभा बोलाएको छ ।

तीन वटा विषयमा विधान संशोधन गर्न छलफल चलिरहेको उनले बताए । ‘पहिलो, कार्यसमितिको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष बनाउनुपर्छ भन्ने आवाज आईरहेको छ । दोस्रो, महासंघको बरिष्ठ उपाध्यक्ष ३ वर्षपछि स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्था खारेज गरी प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गरिनुपर्छ भन्ने माग भईरहेको छ । तेस्रो, महासंघको प्रदेश संरचना बलियो बनाउनु पर्छ र अधिकार पनि प्रदेशलाई बढाउनु पर्छ भन्ने माग आईरहेको छ’ विकासन्युजसँग कुरा गर्दै महासंघको उपाध्यक्ष प्रधानले भने ।

प्रत्यक्ष निर्वाचित अध्यक्षयात्मक व्यवस्था हुनुपर्छ भनेर जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले माग गरिरहेको र यसको पक्षमा महासंघका सदस्यहरुको मत बढ्दै गएको उनको दावी छ । साधारणसभामा विधान संशोधनको माग हुने, साधारणसभाबाटै विधान संशोधन समिति गठन हुने, त्यस समितिको सुझावका आधारमा विशेष साधारणसभा गरि विधान संशोधन गरिने उनले बताए । यी सबै प्रक्रिया पुरा गर्न ८/९ महिना लाग्ने उनले बताए ।

यसअघि पनि महासंघका सदस्यहरुले प्रत्यक्ष मतदान गरी अध्यक्ष चयन गर्दै आएको थिए । २०७३ मंसिर ४ गते भएको विशेष साधारणसभाले विधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष चयन गर्ने र अध्यक्षको कार्यकाल सकिएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरेको थियो । उक्त साधारणसभाले तत्कालिन वरिष्ठ उपाध्यक्ष भवानी राणालाई स्वतः अध्यक्ष बनाउने विशेष व्यवस्था पनि गरेको थियो ।

त्यतिबेला भएको विधान संशोधनमा पूर्व अध्यक्षहरु चण्डीराज ढकाल र रविभक्त श्रेष्ठबाहेक सबै पूर्वअध्यक्षहरुले लिखित र सार्वजनिक रुपमा विरोध गरेका थिए । उनीहरुले विशेषसाधारणसभा समेत वहिस्कार गरेका थिए ।

महासंघको पूर्व अध्यक्षहरु चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ र तत्कालिन अध्यक्ष पशुपति मुरारकाले भवानी राणालाई अध्यक्ष बनाउनैका लागि विधान संशोधन गरेको आरोप महासंघका सदस्यहरुले लगाएका थिए । उक्त आरोपलाई पुष्टि हुने गरी अध्यक्ष राणाको कार्यकालमा नै विधान संशोधन गरी नयाँ अध्यक्षको प्रत्यक्ष चुनाव हुने व्यवस्था गर्न लागिएको छ ।

गोल्छालाई अध्यक्ष बन्न राेक्ने !

विधानतः दुई वर्षपछि महासंघको अध्यक्ष निश्चित भएका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अप्ठ्यारोमा पार्ने नियतले महासंघको विधान संशोधनको कुरा उठाइएको केही व्यवसायीहरुको विश्लेषण छ ।

एक वर्षअघि भएको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका गोल्छा र प्रधानबीच प्रतिस्पर्धा भएको थियो । चुनाव गोल्छाले जिते, प्रधानले हारे ।

तर खेल त्यतिमा सकिएन । त्यतिबेला जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तर्फको उपाध्यक्षमा विजयी भएको प्रमोद श्रेष्ठलाई राजनीतिक कारण देखाएर हटाईयो । रिक्त पदका लागि गत फागुन २५ गते भएको निर्वाचनमा प्रधान विजयी भए । गोल्छा र प्रधानबीच फेरी नयाँ प्रतिस्पर्धाको खेल शुरु भएको व्यवसायीहरु बताउँछन् ।

विधान संशोधन भएपनि वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छालाई अध्यक्ष बन्न ढोका बन्द नहुने बताउँछन् महासंघका कार्यसमिति सदस्या प्रबलजंङ पाण्डे । तर उपाध्यक्ष प्रधानको मत फरक छ । उनले भने ‘विशेष साधारणसभाले जे निर्णय गर्छ त्यहि हुन्छ । त्यतिबेला नै विधानमा उल्लेख गरिने छ कि वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वा चुनावबाट चयन गर्ने ?’

वरिष्ठ उपाध्यक्ष गोल्छाले यस विषयमा उपयुक्त समयमा बोल्ने बताए ।

आलोचना

महासंघका अध्यक्ष भवानी राणा भए पनि पूर्वअध्यक्ष चण्डिराज ढकालले महासंघलाई चलाउँदै आएको यस संस्थाका सदस्यहरु बताउँछन् । राणाले गोल्छालाई भन्दा ढकाललाई उच्च महत्व दिदै आएकी छिन् ।

कतिसम्म भने महासंघको मर्यादा क्रममा अध्यक्ष राणाले गोल्छालाई भन्दा ढकाललाई अगाडि राखेकी छिन् ।

महासंघले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई ‘वेटिङ प्रेसिडेन्ट’ का रुपमा पावरफूल बनाउन खोजेको छ । तर व्यवहारमा वरिष्ठ उपाध्यक्षलाई झन् कमजोर बनाउने काम भईरहेको छ ।

यसअघि महासंघको नेतृत्वको मर्यादाक्रममा निवर्तमान अध्यक्ष दोस्रो र वरिष्ठ उपाध्यक्षलाई तेस्रो नम्बरमा राखिन्थ्यो । अहिले वरिष्ठ उपाध्यक्षको हैसियत कार्यसमितिमा चौथो नम्बरमा झारिएको छ ।

निवर्तमान अध्यक्ष पशुपति मुरारका महासंघमा जरुरी काम पर्दा मात्र जान्छन् । ढकालले आफ्नो दायाँ बाँयाँको सिटमा अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छालाई राखेर महासंघ चलाउदै आएका छन् । अरू पूर्व अध्यक्षहरू महासंघका सचिवालयमा मात्र हाेइन र महासंघकाे ठूला कार्यक्रममा पनि विरलै देखिन्छन् ।

कार्यान्वयन नहुँदै विरोध

प्रत्यक्ष निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष चयन गर्ने र त्यसपछि स्वत अध्यक्ष बनाउने बैद्यानिक व्यवस्था कार्यान्वयनमा नआउँदा विरोध हुनुलाई महासंघमा व्यक्तिगत स्वार्थ हावी भएको रुपमा चित्रण गरिएको छ ।

प्रत्यक्ष निर्वाचनबाट पहिलो पटक वरिष्ठ उपाध्यक्ष बनेका गोल्छाले अध्यक्ष बन्ने मौका नै पाएका छैनन् । उनले कार्यकाल कस्तो हुन्छ भनेर परीक्षण पनि गरेका छैन । तर गोल्छाको विरोध र विधान संशोधनको आवाज उठिसकेको छ ।

महासंघका हरेक निर्वाचनअघि अध्यक्षका आकांक्षीहरु जिल्ला तथा नगर भ्रमणमा निस्कन्थे । भोट फकाउन जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्या सुन्ने, आश्वासन दिने, कतिपय अवस्थामा आर्थिक सहयोग पनि जुटाउने, जिल्ला तथा नगर उद्योग वाणिज्य संघका नेतृत्वसँग भ्रमणमा निस्कने गर्दथे ।

अध्यक्ष निश्चित भएपछि यस्तो गतिविधिमा गोल्छा सक्रिय भएका छैनन् । भावी अध्यक्षसँग बैठक गर्न, छलफल गर्न, सँगै घुम्न र फेसबुकमा फोटो हाल्न नपाएपछि उनीहरु आक्रोशित भएको व्यवसायीहरु बताउँछन् । यहि मौकामा महासंघको चुनावलाई व्यापारमा परिणत गर्दै ‘कर्पाेरेट पावर एक्सरसाईज’ गर्दै आएको व्यक्तिहरु विधान संशोधनको मागलाई बल पुर्याउने काममा लागेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.