काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

  २०७४ चैत १६ गते १४:२१     विकासन्युज

ललितपुर । काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताएका छन् ।

थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौं उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ । उनले भने, “अहिले किसानले पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन् ।”

काठमाडौं उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधि पहुँच नभएकाले पनि थोपा सिँचाइ फैलिन सकेको छैन ।

थोपा सिँचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने वरिष्ठ तरकारी विकास अधिकृत जोशीले बताए । पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्त पानी पाउँछ । थोपा सिँचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ । उनले भने “यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन ।”

एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिँचाइबाट औसत चार लिटर र पाइपबाट औसत ४० लिटर पानी आवश्यक पर्छ । इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइलगायतका सो प्रविधि भित्र्याएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.