२०७४ चैत १० गते २०:५७ विकासन्युज
काठमाडौं । चार उत्साहित युवा कलाकारले गोर्खाको धार्चे गाउँपालिकाको खोर्लावेसी वडा ३ स्थित पहरामा बुद्धको मूर्ति निर्माण गरेका छन् । उक्त गाउँ पालिकामा पर्यटकलाई भित्र्उने उद्देश्यले गाउँपालिकाका प्रमुख सन्तोश गुरुङको सक्रियतामा ४ कलाकारले मूर्ति निर्माण गरेका हुन् ।
युवा मूर्तिकार बिशाल सारु मगरको संयोजकत्वमा कलाकार चन्द्रमणि मगर, मानबहादुर बल र प्रकाश पुनले पहरामा रहेको चट्टाने खोपेर बुद्धको मूर्ति बनाएका थिए । लगातार १० दिनसम्म सो समूह खटिएर उक्त मूर्ति निर्माण कार्य सम्पन्न गरेको कलाकारमध्येको एक चन्द्रमणि मगरले बताए ।
उनका अनुसार मूर्ति बनाउन चार जनाले दैनिक करिब १६ घण्टा खटेका थिए । गोर्खाको दुर्गम स्थानमा रहेको पहरामा बुद्धको मूर्ति बनाउन पाउदा आफुहरु खुसी भएको मगरको भनाइ छ । ‘चट्टानलाई बुद्धको स्वरुपमा ढाल्न निकै चुनौतिपूर्ण थियो,’ उनले भने ‘त्यसलाई अविस्मरणीय ढंगले निर्जिव चट्टानी पहाडलाई जीवन दिएका छौं ।’
उक्त मूर्ति बनाएको स्थान पर्यटकीय रुड भएको कलाकारहरुको भनाइ छ । उनीहरुका अनुसार सो रुड हुदै पर्यटकीय स्थान मानास्लु, घोडेपानी, लम्जुङ बेसी पुगिन्छ । मूर्ति बनाएसँगै स्थानिय बासिन्दा तथा पर्यटकहरु झुम्न थालेको उनीहरुको भनाइ छ ।
मूर्ति जमिनको सतहभन्दा १० फिट उचाई र १५ फिट चौडाईमा निर्माण गरिएको छ । मूर्तिमा बुद्धसँगै स्थानीय धर्म र संस्कारको विषयलाई कलाकारले ‘रिलिफ फम’मा उतारेको जानकारी दिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.