स्वदेशी भन्दा आयातित चिनी २० रुपैयाँ सस्तो, विदेशी चिनीकाे मूल्य प्रतिकेजी ५५ रूपैयाँ मात्र

  २०७४ चैत ८ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाली उद्योगले उत्पादन गरेको चिनी भन्दा आयातीत चिनी निकै सस्तो देखिएको छ । विदेशबाट आयात हुने चिनी प्रतिकेजी ५५ रुपैयाँमा नेपाल आउने गरेको छ भने नेपाली उत्पादन त्यसको तुलनामा करिब २० रुपैयाँ प्रतिकेजी महंगो रहेको छ ।

कृषि मन्त्रालयले चिनीको अनुमानित उत्पादन मूल्य प्रतिकेजी ६२ रुपैयाँ ५० पैसामा हुनुपर्छ भनिरहेको छ । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत मुनाफा राखेर बजारमा पठाउँदा ७३ रुपैयाँ ५६ पैसा पर्न जान्छ । सरकारी तथ्याङक अनुसार पनि हाम्रो उत्पादन आयातित चिनी भन्दा करीब १८ रुपैयाँ महँगो देखिएको हो ।

नेपालमा उत्पादन हुने चिनीको उत्पदान लागत प्रतिकेजी ७५ रुपैयाँ रहेको नेपाल चिनी मिल संघले जनाएको छ ।

२०७३ सालमा तत्कालीन सरकारले मन्त्रिपरिषदको निर्णयबाट चिनी आयात खुल्ला गरिदिएपछि भने झनै हाम्रा स्वदेशी चिनी उद्योगहरु र किसान पिडामा परेका छन् । सरकारले भन्सार दरसमेत निकै न्युन (१५ प्रतिशत) लगाएर चिनी आयत गर्न दिएको छ ।

नेपालका चिनी उत्पादकहरुले आयातित चिनीमा भन्सार दर बढाउन दवाव दिदै आएका छन् । ‘दक्षिण एसियाली मुलुकहरुले चिनीमा १०० प्रतिशतसम्म भन्सार लगाउँदै आएका छन् । भारतले चिनी आयातमा १०० प्रतिशत भन्सार लगाउँदै आएको छ’ संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालमा समेत सरकारले उखु बालीलाई प्रमुख बालीको घोषणा गरेर किसानलाई यस खेतीप्रति आर्कषित गर्ने प्रयास गरिरहेको समयमा यसरी चिनी आयातलाई प्रहोत्सान पुग्ने गरी भन्सार दर परिर्वतन गर्नुपर्ने संघको तर्क छ ।

यदि सरकारले आयातलाई निरुत्साहीत गर्ने हो भने नेपाली उत्पादनको मूल्य ७५ रुपैयाँ नबढ्ने गरि बजारमा चिनी पुर्याउन सकिने चिनी उत्पादक संघको भनाई रहेको छ ।

संघका अनुसार नेपाल सबैभन्दा महंगोमा चिनी उत्पादन गर्ने मध्येको एउटा देश हो । नेपालमा उखुमा लागत निकै धेरै रहेको उद्योगीहरुको दाबी रहेको छ । तर किसानहरुले ऊखुमा उचित मूल्य नपाएको भन्दै विरोध जनाउँदै आएका छन् ।

साँढे ३ अर्बको लगानीमा नेपालमा चिनी उद्योगहरु संचालन भइरहेका छन् । अहिले करिब १ लाख किसानले उखु खेती गरिरहेका छन् भने करिब २० लाख मेक्ट्रिटन उखु उत्पादन भइरहेको छ । चालु आर्थिक बर्ष २०७४/०७५मा ११ अर्ब रुपैयाँको उखु किसानले बिक्री गरेका छन् । यस बर्ष १ लख ७५ हजार मेक्ट्रिटन चिनी उत्पादन भएको छ ।

ऊखु र चिनीको मूल्यमा विवाद जारी रहदा आयातित चिनीले नेपाली बजारमा पकड जमाउँन थालेको छ । यहि अवस्था लामो समय रहेमा चिनी उद्योगहरु बन्द हुनुको साथै ऊखु किसानहरु गम्भिर संकटमा पर्ने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.