पर्यटन मन्त्रीका छ प्राथमिकता, पूर्वाधार निमार्णदेिखि कालाेसूचिकाे दाग मेटाउनेसम्म

  २०७४ चैत ८ गते १४:२२     नारायण पौडेल

काठमाडौं । युवा जोशले भरिएका एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारी पर्यटन मन्त्री बनेका छन् । उनले सन २०२० सालमा बर्सेनी १५ लाख पर्यटक नेपाल आउने वातावरण बनाउने घोषणा गरेका छन् । बार्षिक १० लाख मात्रै होईन ५० औं लाख पर्यटक नेपाल आउन सक्छन तर त्यसका लागि सरकारले केहि कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउनु पर्नेछ ।

यस्ता हुन सक्छन् पर्यटन मन्त्रीका छ प्राथमिकता
१) हवाई पुर्वाधारहरुको निर्माणमा तिब्रता
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिसँगै भैरहवा विमानस्थल र पोखरा विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । दोश्रो अन्तराष्ट्रिय विमानस्थलका रुपमा निजगढ विमानस्थल बनाउने भन्ने सरकारी घोषणाले अझै ठोस रुप लिएको छैन् । निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे अन्यौल कायमै छ । त्रिभुवन विमानस्थलको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढेको छ भने भैरहवामा एमाले बरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक खनालले अवरोध गरेको आरोप लागेको छ । पोखरा विमानस्थलमा पर्यटनमन्त्री अधिकारी आफै जोडिएका छन र उनले सहजताका लागि पहल कदमी पनि गरिरहेकै छन् । निजगढ विमानस्थलमा एमाले उपाध्यक्ष भिम रावलका छोरा जोडिएका छन् । रावलका छोराले कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्डवाइड मार्फत निजगढ विमानस्थलको प्रारम्भिक सम्भाव्यता अध्ययन गराएका थिए । अहिले ३५ लाख अमेरिकी डलरको क्षतिपुर्तिले काम हलो अड्काएको छ । ल्याण्डमार्कले ३५ लाख डलरको ब्याज समेत जोडेर क्षतिपुर्ति माग गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा विमानस्थल र निजगढ विमानस्थलको निर्माणलाई गति दिनु पर्यटन मन्त्रीको पहिलो प्राथमिकता बन्नु आवश्यक छ । यी पुर्वाधारहरु निर्माण सम्पन्न हुने वित्तिकै नेपाल आउने पर्यटकहरुको आगमन ह्वात्तै बढ्नेछ ।
त्यसका अलवा आन्तरिक विमानस्थलहरुको स्तरोन्नति पनि प्राथमिकतामा पर्नु पर्छ ।
२) नेपाल बायुसेवा निगमको प्रभावकारीता
राष्ट्रिय ध्वजा बाहक नेपाल बायुसेवा निगम लथालिंग अवस्थाबाट गुज्र्रिरहेको छ । निगमसँग भएका जहाजहरुको नियमित उडान र नयाँ ल्याउने भनिएका जहाजहरुको उपयुक्त व्यापार योजना नबनाउने हो भने निगम अझै ओरालो लाग्ने त निश्चित नै छ साथमा पर्यटन उद्योग थप धारासायी बन्न सक्छ । त्यसकारण पर्यटन मन्त्रीले बायुसेवा निगमको सशक्तिकरण र युरोप तथा अमेरिकासम्म उड्न सक्ने बनाउन आवश्यक योजना ल्याउनु पर्छ । निगमले आफ्नै आम्दानीबाट सेवा विस्तार गर्ने वातावरण बनाउनका लागि पर्यटनमन्त्रीले हस्तक्षेपकारी भूमिका मन्त्रीले खेल्नु पर्ने देखिन्छ ।
३) नागरिक उड्डयन प्राधिकरणको क्षमता अभिवृद्धि
नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षमता माथी सधै प्रश्न उठ्दै आएको छ । अन्तराष्ट्रिय विमानस्थल भित्रै युएस बंगला जहाज दुर्घटना हुँदा ४९ जनाको जलेरै मृत्यु भयो । यसले हाम्रो अन्तराष्ट्रिय विमानस्थल भित्रकै उद्धार क्षमतामा पनि गम्भिर प्रश्न खडा गरेको छ । यो राष्ट्रिय लज्जाको बिषय पनि बन्न पुगेको छ । नागरिक उड्डयन प्राधिकरणको नियामकिय क्षमता अभिवृद्धिका साथै त्यसको संस्थागत सुदृढीकरण पनि आजको महत्वपुर्ण आवश्यकता बनिसकेको छ । प्राधिकरणलाई हवाई क्षेत्रका विचौलियाहरुले घेराबन्दीमा पारेका छन् । नियामक निकायलाई विचौलियाहरुको चंगुलबाट मुक्त गराउनु पनि अर्काे प्राथमिकता बन्नु पर्छ ।
५) कालोसूचिको दाग
नेपाली बायु सेवा कम्पनीहरुलाई युरोपियन युनियनले कालो सूचिमा राखेका छ । त्यसको कारण पनि नागरिक उड्डयन प्राधिकरणकै दक्षतासँग जोडिएको छ । युरोप जहाँबाट बर्षेनी लाखौं पर्यटक नेपाल आउँछन्, त्यसैले नेपाली बायु सेवा कम्पनीहरुलाई कालो सूचिमा राखेपछि नेपालको पर्यटन उद्योग उभोँ लाग्ने सम्भावनै छैन् । नेपाली बायु सेवा कम्पनीहरुलाई इयुको कालो सूचिबाट हटाउन सके मात्रै अन्तराष्ट्रिय बजारमा नेपालको छवि सुध्रने छ र युरोपियन पर्यटकहरु नेपाली विमानबाटै नेपाल आउने वातावरण बन्नेछ ।
६) पर्यटन बोर्डको सशक्तिकरण
पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड गतिहिन जस्तै बनेको छ । ठुलो भ्रष्टाचार काण्ड बाहिरिएसँगै भर्खरै तँग्रिँदै गरेको बोर्डले संसारभर नेपाली पर्यटन क्षेत्रहरुको प्रवद्धन गर्ने प्रयास गरेपनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन् । बोर्डले आफ्नै वेभसाइटको समेत राम्रोसँग व्यवस्थापन गरेको देखिन्न । नेपाली पर्यटन गन्तव्यहरुको प्रचार सामग्री निर्माण गरेर विश्व बजारमा दर्बिलो उपस्थिती जनाउनका लागि पनि पर्यटन मन्त्रीले आफ्नो भूमिका देखाउनै पर्नेछ । यस अघिकै कार्य शैली र गतिले अघि बढ्ने छुट नयाँ पर्यटन मन्त्री अधिकारीलाई छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.