सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकको एफपीओ पनि रोकियो

  २०७४ चैत ८ गते १३:३४     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकले तत्काल थप निष्कासन(एफपीओ) नल्याउने भएको छ । बजार ओरालो लागेपछि बैंकको सेयर मूल्यमा गिरावट आउँदा एफपीओको धेरै मूल्य नपाउने अवस्था देखिएपछि बैंकले तत्काल एफपीओ नल्याउने योजना बनाएको हो ।

बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको थियो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।बजार घटिरहेकोले एफपीओ तत्काल नल्याउने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । विकास न्युजसँग कुरा गर्दै उनले बजार सुधार भएर अनुकुल वातावरण बनेपछि मात्र एफपीओको प्रक्रिया अघि बढाउने उनको भनाई छ ।

गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । पछिल्लो समयमा बैंकको सेयर मूल्यमा पनि निरन्तर गिरावट आई प्रतिकित्ता ३ सय रुपैयाँमा झरेको छ । गत बैशाखमा बैंकको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँसम्म पुगेको थियो । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ ।

सेयर बजार प्रतिकुल भएका कारण एफपीओ निष्कासन गर्न मर्चेन्ट बैंकर नियुक्ति नगरेको उनको भनाई छ । मर्चेन्ट बैंकर नियुक्त गरेर एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिने काम अहिले रोकिएको उनले जानकारी दिए । सैदान्तिक रुपमा एफपीओ निष्कासनको निर्णय भएपनि बजारमा प्रतिकुल अवस्था सिर्जना भएकाले केही ढिलाइ हुन गएको रेग्मीले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.