चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’

  २०७४ चैत ७ गते १६:३५     विकासन्युज

काठमाडौ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२० का ) रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो । यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई राज्यले उच्च प्राथमिकता दिएको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यभार सम्हाल्ने क्रममा उल्लिखित प्रतिबद्धतालाई दोहोर्याउँदै पर्यटकीय पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिने उद्घोष गरेका छन्।

पर्यटक बढाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’ बनेको छ । चन्द्रागिरि हिल्सलाई सरकारले उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने भएको छ ।

पर्यटनमन्त्री अधिकारीले बुधबार चन्द्रागिरिको स्थलगत अवलोकन गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताए। उनले भने, “अहिले हामीले जे भनेका छौं त्यसलाई आधिकारिक समयसीमा तोकेर पर्यटन मन्त्रालयले यो विमानस्थल यति दिनभित्र बनिसक्छ भनेर समयसीमा स्पष्ट गर्छौं, त्यसका प्रगति पनि देखाउँछौँ ती पूर्वाधारसँगै पर्यटक कति बढ्नेछन् भनेर बाहिर ल्याउनेछौँ ।”

नेपाल पर्यटन वर्ष २०२० लाई सफल तुल्याउन यस्ता ‘प्रोडक्ट’को महत्वपूर्ण भूमिका हुने भन्दै उनले यसमा सञ्चारमाध्यमले राजनीतिकभन्दा आर्थिक गतिविधिलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । वार्षिक ७ लाख पर्यटक पुग्ने धार्मिक महत्वको चन्द्रागिरि पहाड काठमाडौ केन्द्रित पर्यटकका लागि उत्तम गन्तव्य पनि हो ।

पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै मन्त्री अधिकारीले यस्ता पर्यटकीय प्रोडक्टलाई सातवटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न आग्रह गरे। “राज्यले पर्यटकीय पूर्वाधार विकास गरिदिने हो पर्यटकीय उत्पादन विस्तार र विविधीकरण गर्ने निजी क्षेत्र नै हो त्यसैले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहनेछ,” उनले भने।

मन्त्री अधिकारीले चन्द्रागिरि केवलकार जस्ता नयाँ पर्यटकीय गन्तव्यको संरक्षण गरी अभिभावकीय भूमिका निर्वाह गर्न सरकार तत्पर रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । कूल ग्रार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पुर्याउने लक्ष्यका साथ पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकास गरिनुपर्नेमा मन्त्री अधिकारीको जोड छ ।

चन्द्रागिरि हिल्सका लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक हो भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताउ। पर्यटनलाई प्राथमिकता दिएर चन्द्रागिरिको पूर्वाधार अवलोकन गरिनु पर्यटन विकासमा सरकारको उच्च प्राथमिकता रहेको उदाहरण पेश भएको र यसले समग्र पर्यटन क्षेत्रमा उत्साह जगाएको उनले उल्लेख गरे ।

मन्त्री अधिकारीले सडकसंजाल र विमानस्थल जस्ता मुख्यमुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताएका छन् । पर्यटकीय पूर्वाधार निमार्ण भईसकेपछि पर्यटकीय उत्पादनतयार गर्ने काममा नेपालको निजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै भने तब मात्र चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौँ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्दछ ।

सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्र्याउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिँदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताए । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेको बताएका छन् ।

सन् २०१७ मा छ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले चन्द्रागिरिको भ्रमण गरेका थिए । सन् २०१६ मा ५ लाख ५० हजारको हाराहारीमा पर्यटक गएका थिए । दैनिक १ हजार ५०० देखि २ हजारसम्म चन्द्रागिरि पुग्ने गरेका छन् । सार्वजनिक बिदा र चाडबाडको बेला धेरै सर्वसाधारण जाने गर्छन् । झण्डै ५ अर्ब रुपैयाँ लगानीमा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको यस आयोजनाअन्तर्गत अबको तीन महिनामा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण भइसक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.