राजधानीमा शुक्रबारदेखि खाद्य मेला, जाति जनजातिका परिकारसहितका ७८ स्टल सहभागि हुने

  २०७४ चैत ७ गते १५:१३     विकासन्युज

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपको बगैंचामा चैत ९,१० र ११ गते तेस्रो खाद्य मेला–२०४ हुने भएको छ । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन हुन लागेको हो ।
‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौंः असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नारा रहेको उक्त मेलामा मुख्य गरि खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषण सम्बन्धि जनचेतनामूलक कार्यक्रम हुने बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विभागले जानकारी गराएको छ ।

कार्यक्रमको आसरमा विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले मेलामा थारु, नेवार, राई लगायत विभिन्न जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी, बिक्री वितरणका साथै झाँकी प्रदर्शनी हुने बताए । स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा समेत विविध जानकारी मेलाको अवसरमा गराइने उनको भनाइ छ ।

आयोजकका अनुसार मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरि ७८ स्टल सहभागि हुनेछ । निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त मेलामा सहभागीमध्ये खाद्य उद्योग, खाद्य सम्बन्धी प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्वितीय तथा सान्त्वना हुनेलाई नगद पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.