हिमालयन फाइनान्सलाई पुनःसञ्चालनमा ल्याउन लिक्विडेटरले राष्ट्र बैंकमा योजना बुझाउँदै

  २०७४ चैत ५ गते १७:०८     विकासन्युज

काठमाडौं । खारेजीको प्रक्रियामा रहेको हिमालयन फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन लिक्वडेटरले अवधारणपत्र (कन्सेप्ट पेपर) तयार पारेको छ ।  लिक्विडेटर सुजनकुमार काफ्लेको टिमले अवधारणापत्र तयार पारेर नेपाल राष्ट्र बैंकलाई बुझाउने भएको छ ।

अवधारणाअनुसार केन्द्रीय बैंकले सहमति दिए प्रक्रिया अघि बढ्ने छ । त्यसपछि पुँजीवृद्धिको योजना तयार पार्ने लिक्विडेटरले जानकारी दिएको छ । ठुला लगानीकर्ता (साहु)को भेलाले फाइनान्स सञ्चालन गर्नका लागि थप लगानी गर्न तयार भएपछि लिक्विडेटरले अवधारणापत्र तयारी थालेको हो । ठुला लगानीकर्ता फाइनान्स पुनः सञ्चालन गर्न राजी भएपनि सानाले मानेका छैनन् ।

लिक्विडेटरको कार्यालयले खारेजीमा परेको कम्पनीलाई दामासाही सम्बन्धि ऐनअनुसार पुनर्संरचना गरेर पुनःसञ्चालनमा ल्याउन सकिने प्रावधान रहेको भन्दै ठुला लगानीकर्ताको सहमतिमा फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको थियो । उसले यसअघि कार्यालयले लगानीकर्ता र निक्षेपकर्तासँग सुझाव मागिसकेको छ ।

राष्ट्र बैंकसँग छलफलपछि लिक्वडेटरको कार्यालयले फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो । हाल हिमालयको निक्षेप रकम फिर्ता र अन्य गरी संस्थाको दाइत्व ५० करोड रुपैयाँ छ । फाइनान्सको तरल र स्थिर सम्पत्ति गरी कुल २५ करोड रुपैयाँ दाइत्व भुक्तान गर्न नसकिने अवस्था देखिएपछि निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न योजना ल्याइएको हो । हाल संस्थाको पुँजी अहिले ५० करोड रुपैयाँ रहेको छ ।

निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न सकरात्मक भएको कार्यालयको भनाई छ । २५ करोड रुपैयाँ दाइत्वलाई सेयरमा परिणत गर्न सके फाइनान्स सञ्चालन गर्ने वातावरण बन्ने देखिएको लिक्विडेटरको ठहर छ । फाइनान्स कम्पनी सञ्चालन गर्न अहिले ८० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ ।

वित्तीय संस्थाको अवस्था खराब भएपछि राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरी खारेजीका लागि तत्कालिन पुनरावेदन हालको उच्च अदालतमा मुद्धा दायर गरेको थियो ।उसको निवेदनको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले ०७२ असोज २१ गते दामासाही ऐनअनुसार लिक्विडेटर नियुक्त गरी खारेज प्रक्रिया अघि बढाउन आदेश दिएपछि हाल कार्यालयले खारेजीको काम गरिरहेको छ ।

वित्तीय अवस्था नाजुक भएपछि राष्ट्र बैंकले सन् २०१२ मा जुलाइमा खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको थियो । कम्पनीको पुँजी पर्याप्तता अनुपात, खुद सम्पत्ति लगायत अन्य सुचक नियम भन्दा कमजोर भएपछि राष्ट्र बैंकले खारेजीको प्रक्रियामा लगेको हो ।
हिमालयको कुल सम्पत्ति १८ करोड रुपैयाँ रहेकोमा वित्तीय अवस्था खराब भएपछि दाइत्व बढेर ७३ करोड रुपैयाँ पुगेको थियो ।

फाइनान्सका पुर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ लगायत १६७ जनालाई बैंकिङ कसुर ऐन अनुसार ५३ करोड २२ लाख ९० हजार रुपैयाँ दावी माग गरिएको छ । सन १९९४ मा स्थापना भएको फाइनान्सको चुक्तापुँजी १४ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकले समस्याग्रस्तबाट मुक्त भएर पुनः वित्तीय कारोबार गरेका वित्तीय संस्थाले चुक्तापुँजी पुर्याउन २ वर्ष थप समय दिएको छ । केन्द्रीय बैंकले समस्याग्रस्तबाट मुक्त भई पुनः सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्थाले आगामी वि.सं २०७६ असारसम्म चुक्तापुँजी पुर्याउन पर्ने व्यवस्था गरेको छ ।

यस्तै कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो)को विषयमा र प्राथमिकता प्राप्त र विपन्न क्षेत्रमा प्रवाह गर्न तोकिएको न्युनतम अनुपातमा औचित्य र आवश्यकताका आधार छुट दिने राष्ट्र बैंकले जनाएको छ ।

११ वित्तीय संस्था समस्याग्रस्त घोषणा भएकोमा अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् । यस्तै ९ मध्ये केही संस्था पनि नयाँ लगानीकर्ताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.