मिक्स डिजाइनमा घर बनाउनुहाेस्, खर्च पनि कम र गुणस्तर पनि राम्रो

  २०७४ चैत ३ गते २०:०२     विजय राजभण्डारी

२०७२ सालको दोस्रो ठूलो भूकम्प आउँदा म त्रिपुरेश्वरस्थित सीई गु्रपको कार्यालयमा थिएँ । ८ तलाको भवनमा बस्दा पनि म बाहिर गइन् । मैले अफिसको कर्मचारीलाई पनि वाहिर नजान भनँे किनभने मलाई विश्वास छ कि यो भवन लड्दैन । यो भवन ढल्यो भने नेपालमा कुनै पनि भवन रहँदैन ।

सीई गु्रपको अफिस एउटा उदाहरण मात्र हो, नेपालमा पछिल्लो समयमा बनेका घर, व्यवसायिक कम्प्लेक्स, पुल, जलविद्युत लगायत पूर्वाधार निर्माणको काम गुणस्तरीय छ । वर्तमान अवस्थामा नेपाली निर्माण व्यवसायीले अन्तराष्ट्रिय स्तरको गुणस्तरी निर्माण कार्य गरिरहेका छन् । विदेशी निर्माण व्यवसायीलाई दिने जति पैसा नेपाली व्यवसायीलाई दिने हो भने नेपालीले विदेशीको भन्दा राम्रो र गुणस्तरीय निर्माण कार्य गर्न सक्छन् ।

निर्माण क्षेत्रमा काम गर्दा तीन विषयलाई निकै प्राथमिकतामा राखिन्छ । पहिलो, परियोजना निर्माण गुणस्तरीय हुनुपर्यो । दोस्रो, तोकिएको समयमा निर्माण सम्पन्न हुनु पर्यो र तेस्रो परियोजनाको लागत सस्तो हुनु पर्यो । मैले निर्माण क्षेत्रमा ३५ वर्षभन्दा बढी काम गरे । मेरो बुझाईमा नेपाली निर्माण व्यवसायीहरु उल्लेखित तीन वटै क्षेत्रमा राम्रो गरिरहेका छन् ।

भूकम्पपछि निर्माणको गुणस्तर उल्लेख्य वृद्धि भएको छ । सरकारी निकायबाट नियमन र सुपरिवेक्षण पनि प्रभावकारी भएको छ । आवास निर्माण कम्पनीहरुले निर्माण गरेका संयुक्त आवास र सामूदायिक आवासको हिस्सा सहरी क्षेत्रमा ज्यादै कम छ । वर्षमा काठमाडौं उपत्यकामा १० हजार नक्सा पास भएको छ भने आवास निर्माण कम्पनीले करिव २०० घर निर्माण सम्पन्न प्रमाणपत्र पाएको हुन्छ । कम्पनीहरुले गरेको निर्माण मात्र होइन, जनस्तरबाट भएको निर्माणको गुणस्तरमा पनि धेरै सुधार भएको छ ।

पहिला जियोटेक्नीकल इन्भेटिगेशन गर्ने त्यति चलन थिएन । पहिला ५ फीट मुनीसम्मको माटो जाँच हुन्थ्यो भने अहिले १२ मिटर तलसम्मको माटो जाँच हुन्छ । पहिला सिभिल इन्जिनियर्सले नक्सा बनाएपछि हुन्थ्यो, अहिले ठूला भवन निर्माण गर्दा स्टचरल इन्जिनियर्सबाट डिजाईन गाईन्छ । पहिला एम १५ ग्रेडको कंक्रिट प्रयोग हुनेमा अहिले कम्तिमा एम२० ग्रेडको कंक्रिट प्रयोग हुन थालेको छ । पिलरको साइजहरु पनि बढेर आयो । व्याचिङ प्लान्ट, कंक्रिट पम्पको भाइब्रेटर लगायतको उपकरण प्रयोग हुन थाल्यो । नयाँ प्रविधिको प्रयोगसहित बनेको औद्योगिक प्रडक्टहरुको गुणस्तर राम्रो हुन्छ ।

नेपालमा बन्ने निर्माण सामाग्रीको गुणस्तर पनि राम्रो भएको छ । एक दशकअघि हामीले विदेशबाट आयात गर्दा जुन गुणस्तरको सिमेन्ट किन्न प्रतिबोरा ९०० रुपैयाँ तिर्यौ, त्यही गुणस्तरको सिमेन्ट नेपाली सिमेन्ट ८५० रुपैयाँमा पनि किन्न सकिन्छ । तर छोटो विधि अपनाउने र छिटो कमाउने विधिबाट निर्माण गरिएका निर्माण सामाग्री कमजोर हुन्छ । मेसिनले कस्नु पर्ने पेच हम्मरले ठोकेर कस्ने काम भयो भने त्यसमा गुणस्तर हुँदैन ।

पूर्वाधार निर्माणतर्फमा पनि धेरै परिवर्तन भएको छ । ढेड दशकअघिसम्म नेपाली निर्माण व्यवसायीले जलविद्युत परियोजना निर्माण गर्ने भनेको सोचभन्दा वाहिरको विषय थियो । अहिले सीई कन्स्ट्रक्सन आफैले २३ मेघावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस्ता परियोजना अहिले नेपालीहरुले दर्जनभन्दा बढी निर्माण गरिरहेका छन् । ठूला सडक, पूल, सुरुङ, बाँढ, नहर बनाउन सफल अनुभवी नेपालीहरुको संख्या बढ्दै गएको छ ।

इक्विपमेन्टको प्रयोग

निर्माण क्षेत्रमा इक्विप्टमेन्टहरुको प्रयोग उल्लेख्य मात्रामा बढिईरहेको छ । पहिला विदेशी ठेकदारले यहाँ परियोजना निर्माण गर्न ल्याएको हेभी इक्विप्टमेन्ट उनीहरुले योजना सम्पन्न गरेर छोडेर जानेबेलामा नेपाली निर्माण व्यवसायीले किन्थ्यौ । नयाँ मेसिन किन्ने नेपालीको सामाथ्र्य थिएन । केही वर्षअघिसम्म नेपाली निर्माण व्यवसायीसँग स्काभेटर, डोजर, लोडर, कंक्रिट बेचिङ प्लान्ट लगायत हेभि इक्वीप्टमेन्ट कम थियो । अहिले निर्माण व्यवसायीसँग धेरै मात्रामा मेसिनरी सामानहरु छन् । नयाँ इक्विप्टमेन्टहरुको बढ्दो आयातले पनि यसलाई पुष्टि गर्छ ।

लागत

निर्माणको लागत हरेक वर्ष बढ्दो छ । निर्माण सामाग्रीको मूल्य बढेको छ । यस सिजनमा मात्र डण्डीको मूल्य प्रतिकिलो १० देखि १६ रुपैया बढेको छ । सिमेन्टको मूल्य बोरामा ८० रुपैयाँ बढेको छ । नेपाली सिमेन्टको उत्पादन नबढेको भए अहिले सिमेन्टको मूल्य झनै बढी हुने थियो । ईँटा, गिठ्ठी, बालुवा, काठ, लगायत निर्माण सामाग्रीको मूल्य पनि हरेक वर्ष बढ्दै गएको छ । निर्माण सामाग्रीको मूल्य बेलाबखत स्थीर देखिन्छ, नत्र हरेक वर्ष बढेकै हुन्छ । विदेशबाट आयात भएको सामाग्रीको प्रयोग पनि बढ्दो छ । नेपाली काठ प्रतिक्युविकको ६ हजार पर्छ भने मलेसियाबाट आउने काठ प्रतिक्यूविकको ४ हजार रुपैयाँ पर्छ ।

श्रमिकको मूल्य पनि बढेको छ । मैले ३५ वर्षको अनुभवमा श्रमिकको ज्याला घटेको छैन । पछिल्लो समय दक्ष जनशक्तिको कमी पनि छ, उनीहरुको भाऊ पनि निकै बढेको छ । नेपालमा ३५ हजार कमाउने इन्जिनियर विदेश गएपछि एक लाख भन्दा बढी कमाउने अवस्थाले नेपालीहरु विदेश जाने गरेको देखिन्छ । निर्माण क्षेत्रमा काम गर्ने वर्करले अरु क्षेत्रमा भन्दा बढी कमाउँछ तरपनि विदेशमा निर्माण क्षेत्रमा काम गर्नेले भन्दा नेपालको निर्माण क्षेत्रमा काम गर्नेले कम नै कमाउँछन् ।

बढ्दो मेसिनको प्रयोगले जनशक्तिको मागलाई केही मत्थर गरेको छ । पहिला माटो खन्ने काम मान्छेले गर्दथ्यो भने अहिले मेसिनले माटो खन्छ । डण्डी काट्न मान्छेले ह्याक्सो प्रयोग गरेर लामो समय खर्चनु पर्दथ्यो । अहिले मेसिनले डण्डी काटिन्छ । फर्मा करौतीले काटिन्थ्यो, अहिले मेसिन लगायर काटिन्छ । ढलान मसला बनाउन मेसिनको प्रयोग हुन्छ । ढलान मसला खाद्ने काम पहिला हातले गरिन्थ्यो भने अहिले भाइवेटर प्रयोग हुन्छ । काठमा प्वाल पार्ने, पेच कस्ने काम मेसिनबाटै हुन्छ । तर ती सबै मेसिन चलाउन मान्छे नै चाहिन्छ । यस्तो काम गर्ने मानिसको कमी नै छ ।

खर्च कटौति

पछिल्लो समय ढलानमा हुने कंक्रिट मिक्स डिजाइनको प्रयोग गरेर खर्च कटौति गर्ने अभ्यास बढ्दो छ । ईटाको सट्टा होलो ब्लक, कंक्रिट प्यानलको प्रयोग हुन थालेको छ । जीआई पाइपको सट्टा सीपीभीसी वा पीपीआर प्रयोग हुन थाल्यो । काठको झ्याल ढोकाको साटो एल्मुनियम तथा यूपीभीसीका झ्याल ढोका प्रयोगमा आउन थाल्यो । हलुका निर्माण सामाग्रीको प्रयोग बढ्दो छ । निर्माण कार्य पनि छिटो र बलियो बन्दै गएको छ । मिक्स डिजाइनमा जाँदा खर्च पनि कम र गुणस्तर पनि राम्रो भएकोले यसतर्फ मानिसहरुको आकर्षण बढ्दो छ । विदेशमा काम गरेर फर्केका नेपालीहरुले विदेशमा प्रयोग भएको प्रविधिको प्रयोग पनि बढ्दो छ । ग्रिन टेक्नोलोजिको प्रयोग बढ्दो छ । निर्माण समाग्री र श्रमको मूल्य निरन्तर वृद्धि हुँदा पनि प्रविधि र मेसिनको प्रयोगले समग्रमा निर्माण लागत नियन्त्रण गर्न सहयोग पुगेको छ ।

(सीई ग्रुपका प्रबन्ध निर्देशक राजभण्डारीसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.