तनहुँ जलविद्युत आयोजनाले दियो ६० जना प्रभावितलाई निशुल्क तालिम

  २०७४ चैत २ गते १६:५०     विकासन्युज

दमौली । १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावितलाई दिएको निशुल्क सीपमूलक तालिम सम्पन्न भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले गत कात्तिकबाट पहिलो चरणमा ६० जना आयोजना प्रभावितलाई इलेक्ट्रेसियन (हाउस वायरिङ) र प्लम्बिङको तालिम दिन शुरु गरेको थियो ।

तनहुँ प्राविधिक शिक्षालय भिमादमा सञ्चालन भएको तालिममा इलेक्ट्रेसियनमा दुई समूह र प्लम्बिङमा एक समूह थिए । तालिमको अवधि ९० दिन अर्थात ३९० घण्टा थियो । शुक्रबार शिक्षालयमा गरिएको कार्यक्रममा तनुहँका निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा पौडेलले आयोजनाले प्रभावितलाई निशुल्क तालिम दिएर प्रशंसनीय काम गरेको बताएका छन् । उनले तालिम लिएका आयोजना प्रभावितलाई आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सहयोगीको भूमिका खेल्दै स्वरोजगारमार्फत आयआर्जन गर्न तर्फ क्रियाशील रहन आग्रह गरेका छन् ।

प्रवन्ध सञ्चालक थिकेले आयोजना निर्माणका लागि मूख्य ठेकेदार परिचालन भएपछि त्यस कम्पनीको आवश्यकता र तालिम लिएका व्यक्तिको दक्षताका आधारमा रोजगारीमा प्राथमिकताका लागि पहल गरिने बताए । उनले प्रभावित महिलालाई लक्षित गरी छिट्टै ब्यूटिसीयन र सिलाई कटाई तालिम सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् ।

आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको उद्यमशीलता विकास गर्न पुनस्र्थापना तथा आदिवासी जनता योजनाका भएको व्यवस्था अनुसार निशुल्क तालिम दिइएको हो । १८ वर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने र आयोजनाबाट प्रत्यक्ष प्रभावितले तालिमका लागि योग्यता तोकिएको थियो ।

आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ९० प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ ।

आयोजनाको कूल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो लागत निर्माण अवधिको व्याज र प्रसारण लाइन तथा ग्रामीण विद्युतीकरणको खर्च सहितको हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको अतिरिक्त एसियाली विकास बैक, जापान अन्तराष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैकको संयुक्त लगानी रहने छ ।

आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । सन् २०२२ भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.