२०७४ फागुन ३० गते १२:५२ विकासन्युज
काठमाडौं । मुलुकभरका सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढ्न तत्पर रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले ‘संघीय संरचनामा आर्थिक समृद्धिका अवसर’ नाराका साथ नवनिर्वाचित मुख्य मन्त्रीहरुको सम्मानमा बुधबार गरिएको अभिनन्दन् कार्यक्रममा बोल्दै मुख्यमन्त्रीहरुले निजी क्षेत्रसँंगको सहकार्य विना मुलुकको आर्थिक विकास सम्भब नहुने धारणा राखेका हुन् ।
यस्ता छन् मुख्यमन्त्रीहरुका धारणा
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँंगै मुलुकले समृद्धिको यात्रा तय गरेको बताएका थिए । त्यस्तै प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्धीले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको प्रष्ट्याएका छन् ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अव कुरा गर्ने होइन, काम गर्ने समय आएको बताएका छन् । कार्यक्रमकै अवसरमा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेशमा कर्मचारीहरुको अभाब चुनौतिको रुपमा देखिएको सुनाएका थिए । यद्यपि त्यसको समाधान खोज्दै जाने उनको भनाइ छ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धिको लागि संघीय व्यवस्था आवश्यक परेको भन्दै आर्थिक समृद्धिको विकल्पमा अर्को एजेन्डा नरहेन उनको भनाइ छ । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशको विकास आफनो मुख्य एजेन्डा रहेको बताए । पिछडिएको प्रदेश भएकोले कर्णालीमा बढी अवसर रहेको उनको भनाइ छ ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भटले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँंग सहकार्य गर्न तत्पर रहेको जानकारी दिए ।
कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले जहाँं अधिकतम सुविधा छ, त्यही निजी क्षेत्रले लगानी गर्ने र लगानीले नै स्थानीय रोजगारी सृजना गरी राजश्व बुझाउने बताए । त्यसप्रति प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण हुनु पर्ने उनको जोड छ ।
प्रदेशअनुसार मुलुकमा पर्यटन, हाइड्रो, कृषि, जडिवुटी, खानी लगायतका उद्योगहरु स्थापना गर्नको लागि प्रशस्त सम्भावना भएको चेम्बरको भनाइ छ । त्यस्तै चेम्वरले स्थानीतहमा बृहत आर्थिक बहस कार्यक्रममार्फत सरकारी निकायसँंग समन्वय गरी अगाडि वढ्ने योजना रहेको उपस्थित मुख्यमन्त्रीहरुमाझ जानकारी गराएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.