मापसे र नो हर्नपछि अब उपत्यकामा ‘स्पिड लिमिट’, ३० किलोमिटर तोक्ने तयारी

  २०७४ फागुन २९ गते ११:२८     नारायण पौडेल

काठमाडौं । मादक पदार्थ सेवन(मापसे) र नो हर्न अभियानको सफलतासँगै अब उपत्यकामा ‘स्पिड लिमिट’ कायम गरिने भएको छ । ट्राफिक प्रहरी, सडक विभाग र वातावरण मन्त्रालयले संयुक्त रुपमा ‘स्पिड लिमिट’ तोक्न लागेको हो । ‘उपत्यकाको वातावरण प्रदुषण रोक्न र सवारी साधनको दुर्घटना समेत कम गर्न सवारी साधनहरुको स्पिड लिमिट तोक्नुपर्ने आवश्यकता औँल्याएका छौं, सडक विभाग, ट्राफिकसँग छलफल भैरहेको छ’, वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले भने ।

महानगरिय ट्राफिक महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीले पनि उपत्यका भित्र गुड्ने सवारी साधनहरुको स्पिड लिमिट तोक्नेबारे छलफल भैरहेको बताए । उपत्यकाका सडक, सवारी साधनको संख्याका आधारमा स्पिड लिमिट ३० किलोमिटर तोकिनु उपयुक्त हुने उनले बताए । ‘उपत्यकामा तिब्रगतिका सवारी साधन दुर्घटना हुँदा अधिकांशमा ज्यान गएको देखिन्छ, त्यसकारण स्पिड लिमिट कायम गरिनु आवश्यक छ’, ट्राफिक महाशाखका सहायक प्रवक्ता मरासिनीले भने । माघ मसान्तसम्ममा ३५७० वटा दुर्घटनामध्ये १७ वटा उच्च गतिका कारण भएका छन् र अधिकांशमा ज्यान गएको पनि उनले बताए ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले पनि उपत्यका भित्र सवारी साधनको गति तोक्न सकिने बताए । ‘शहरी सडकमा स्पिड लिमिट तोकिएको हुन्न । तर अन्यत्र भन्दा कम चाँही हुन्छ, उपत्यकामा ३० किलोमिटर उपयुक्त हुन सक्छ’, विभागका प्रवक्ता गौतमले भने । उनले गति तोक्नुका साथै ठुला सवारी साधनहरुको उपयोगमा पनि प्रोत्साहन गरिनुपर्ने धारणा पनि राखे ।

वातावरण मन्त्रालयले ठुला सवारी साधनलाई प्रोत्साहन गर्ने, युरो ४ मापदण्डका सवारी मात्रै आयात गर्ने लगायतका अवधारणा पनि अघि सारेको छ । उपत्यका भित्र ठमेललाई सवारी साधन मुक्त बनाईसकिएको छ । त्यस्तै उपत्यकामा नो हर्न अभियान पनि सफल भैसकेको छ भने मापसे अभियानले दुर्घटना कम गर्न महत्वपुर्ण भूमिका खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.