बेलबारी नगरद्धारा ३२ विद्यालयमा ई-हाजिरी सेवा र बिरामीलाई २५ हजार सहयोग

२०७४ फागुन २७ गते १५:०१ विकासन्युज

काठमाडौं । बेलबारी नगरपालिका उर्लाबारी मोरङले नगरपालिका भित्रका ३२ वटा विद्यालयमा ई-हाजिरी प्रक्रिया सुरु हुने भएको छ । नगरपालिकाको समन्वयमा ई हाजिरी मेसिन खरिद प्रक्रिया अघि बढेको हो ।

३२ विद्यालयका लागि ३२ वटै ई हाजिरी मेसिन खरिद प्रक्रिया अधि बढेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ई-हाजिरी सेवाबाट विद्यालयमा काम गर्ने सम्पुर्ण कर्मचारीको हाजिर हुनेछ । तर विद्यार्थीको हकमा भने यो लागू हुने छैन ।

‘नगरपालिकाले विकासका कार्यक्रमलाई अगाडी बढाइरहेको छ, नगरपालिकामा रहेका ११ वटै वडामा इन्टरनेट सेवा पुगिसको छ, अब अन्य विकासका पुर्वाधार विकास गर्न आर्थिक स्रोतको व्यवस्थापन गरिरहेका छौं’, सुवेदीले विकासन्यूजसँग भने ।

नगरपालिकाले विभिन्न पाँच रोगका बिरामीलाई जिवनयापन सहज बनाउँनका लागि २५ हजार रुपैंयाका प्रतिव्यक्तिदरले रकम प्रदान गर्ने भएको छ । नगरले अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो ।

अहिले पाँच रोगबाट पीडित व्यक्तिहरुको तथ्यांक संकलन भैरहेको नगरले जनाएको छ । ११ जना पीडितको विवरण आइसकेको र आउनेक्रम जारी रहेको छ । रकम लिनको लागि बिरामीले उपचार गराएको अस्पताल वा चिकित्सकले प्रमाणित गरेको कागजातको नगपालिकामा पेश गर्नु पर्ने छ । बिरामीलाई प्रदान गर्ने रकम नगरपालिकाको कोषबाटै उपलब्ध गराउने मेयर सुवेदीले जानकारी दिए ।

नगरपालिकाले विशेषगरी सडक, स्वास्थ्य र शिक्षालाई जोड दिएको उपमेयर ढाकादेवी पराजुलीले बताइन् । नगरमा सपिङ कम्पेक्स, बसपार्क निर्माण लागि आवश्यक कोष नहुँदा विभिन्न दाताहरुसँग सहयोग लिने विषयमा छलफल भैरहेको उपमेयर पराजुलीले बताइन ।

नगरपालिकाले स्पस्ट कानूनी कार्यआदेश नपाउँदा सुकुम्बासी समस्या र नदिनालाको व्यवस्थापनमा कठिनाई रहेको मेयर श्रेष्ठले बताए । नगरको ११ वडामा करिब ७३ हजार जनसंख्या बसोबास गर्दै आएका छन् । नगरको सबै वडाहरुमा खानेपानी को सुविधामा भने पुगेको छैन ।