मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ठेकेदार फेरी सुस्तायो

  २०७४ फागुन ११ गते १२:३०     विकासन्युज

चौतारा । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामाग्रीको अभाव रहेको भन्दै काममा ढिलाई गरेको हो ।

ठेकेदारले कुनै दिन कामै नगर्ने र कुनै दिन एक मिटर मात्र सुरुङ खन्ने गरेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले बताए । आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२७ किमी सुरुङ सम्पन्न भइसकेको छ । सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते सम्पन्न भएको थियो ।

ठेकेदार कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव भएकोजस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ । सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो ।

त्यसपछि सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग रु सात अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको र पटकपटक म्याद थप गरी अन्तिम अवधि आगामी मार्चसम्म कायम रहेको छ ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.