एक सातामा बीपीसीको ६६ करोड ८६ लाख एफपीओ बिक्री होला ? नभए ८ वटा अण्डरराइटरले किन्नुपर्ने

  २०७४ फागुन ८ गते १४:२७     विकासन्युज

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बन्द हुन एक साता मात्र बाँकी छ । हालसम्म निष्कासनको ६७ प्रतिशत मात्र एफपीओ बिक्री भएको छ ।

एक साताको अवधिमा बीपीसीको ३३ प्रतिशत एफपीओ बिक्री हुनुपर्ने छ । हालसम्म बीपीसीको १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ बराबरको २७ लाख ३ हजार १४३ कित्ता मात्र एफपीओ बिक्री भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओ निष्कासन आउदो १५ गते बन्द हुनेछ । आवेदनको तुलनामा कम रकमका लागि आवेदन परेको छ । अन्तिम समयमा एफपीओ बिक्री हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरेले बताउँछन् । हालसम्मको ट्रेनले यस्तो देखाएको उनको विश्लेषण छ ।

निर्धारित समयमा बिक्री नभए पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई हुने र उनीहरुले खरिद नगरे धितोपत्र प्रत्याभूति गर्ने (अण्डरराइटर) ले खरिद गर्ने घिमिरेले जानकारी दिए । उनले अण्डर राइटरले खरिद गर्नुपर्ने अवस्था नआउने बताए ।

बिक्री नभएको एफपीओ बिक्री प्रवन्धक एनएमबीलगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्ड गरी ८ संस्थाले खरिद गर्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । सबैमा १० कित्ताको मनोवैज्ञानिक असर परेको उनको तर्कछ ।

बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो ।

बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ ।

गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.