सुरु भयो महिला उद्यमी हस्तकला मेला

  २०७४ फागुन ४ गते १७:०३     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा शुक्रबारदेखि महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु मेला २०७४ सुरु भएको छ । महिला उद्यमीहरुको हस्तकलालाई सम्बद्र्धन प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले काठमाडौंको त्रिदेवी मन्दिर परिसर, त्रिदेवीमार्ग, ठमेलमा मेलाको आयोजना गरिएको छ ।

मेला काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख हरिप्रभा खड्गीले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला मुलुकको लागि मौलिक कला रहेको बताए । यस उद्योगलाई हरेक घर–घरमा, गाउँ–गाउँमा सानो पुँजीको माध्यमबाट धेरै महिलाहरुले सञ्चालन गरिरहेको उनको भनाइ छ । उनका अनुसार मेलाले हस्तकलाको विकास तथा प्रवद्र्धनको लागि महत्वपूर्ण सहयोग मिल्ने छ ।

त्यस्तै कार्यक्रममा नेपाल हस्तकला महासंघकी उपाध्यक्ष एवं उद्योग परिषद्की सभापति रत्नेश्वरी श्रेष्ठले मेलाबाट हस्तकला उद्योगमा संलग्न महिलाहरुको सीप, क्षमता र परिश्रमलाई बढावा दिने बताइन् । उनका अनुसार यसबाट महिला उद्यमीहरुलाई अगाडि बढ्न प्रोत्साहन मिल्नेछ ।

महासंघले विगत ४६ बर्षदेखि हस्तकलाका विविध क्षेत्र सम्बन्धमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको जनाएको छ । मेलामा महिला उद्यमीहरुबाट उत्पादित हस्तकला बस्तु तथा प्राकृतिक रेसाजन्य वस्तुको करिब २० वटा स्टल राखिएको छ । मेला फागुन ६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.