दोर्दीखोला आयोजनाबाट १ वर्षमा २७ मेगावाट बिजुली उत्पादन हुदै, ६० प्रतिशत काम सकियो

  २०७४ फागुन १ गते १२:४६     विकासन्युज

लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङमा निर्माण गरिहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको काम आउदो १ वर्षमा सम्पन्न हुने भएको छ ।

आयोजनाको निर्माणाधिन विद्युत गृह

प्रवद्र्धक हिमालयन पावरले आयोजना निर्माणको काम तिब्रता दिएको छ । हालसम्म आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । आउदो ०७५ चैतभित्र आयोजनाबाट बिजुली उत्पादन हुने हिमालयन पावरका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । “साधारण सेयर (आईपीओ) निष्कासन गर्दा हामीले ०७५ चैतभित्र बिजुली उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छौ” उनले भने “निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुनेछ ।”

आयोजनाको काम सुरु भएको १ महिनामा विनासकारी भूकम्प गएपछि १ वर्षपछि ०७३ सालदेखि आयोजनाको निर्माण सुरु भएको हो । आयोजनाको कुल लागत निर्माणअवधिको ब्याज समेत गरी ४ अर्ब २३ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । ढकालका अनुसार आयोजनाबाट वार्षिक १४ करोड ४० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको रिटर्न अन इक्विटी (आरओई) १८ प्रतिशत छ ।

पछिल्लो समयमा सिमेन्ट डण्डीलगायत अन्य निर्माण सामाग्रीको भाउ बढेकाले लागत १० प्रतिशतसम्म बढ्न सक्ने उनको अनुमान छ । आयोजनामा एनआरएन इन्भेष्टमेन्ट लिमिटेडको ३५, आईएमई ग्रुपको ३५ र सर्वंसाधारणको ३० प्रतिशत लगानी रहेको छ । एनआरएन इन्भेष्टमेन्टको प्रवेशपछि कम्पनी पब्लिक लिमिटेडमा रुपमान्तरण भएको हो ।

आयोजनाबाट सञ्चालनमा आएको पहिलो वर्ष बिजुली बिक्रीबाट ७६ करोड रुपैयाँ आम्दानी गर्नेछ । यस्तै त्यसपछि आम्दानी बढेर ९६ करोड रुपैयाँसम्म पुग्ने छ । नेपाल विद्युत प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाएपछि वार्षिक आम्दानी १ अर्ब रुपैयाँ नजिक पुग्ने भएको हो ।

आयोजनामा प्राइम कमर्शियल बैंकको अगुवाइमा नविल बैंकलगायत आधा दर्जन बैंकको अगुवाइमा ३ अर्ब १७ करोड रुपैयाँ ऋण लगानी भएको छ । संस्थापकबाट १ अर्ब ६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी छ ।

हाल आयोजनाको २.७ किलोमिटर सुरुङ मध्ये झण्डै आधा सकिएको छ । यस्तै विद्युतगृहको निर्माण भइरहेको छ । आयोजनाको बाँध दोर्दी गाउँपालिकाको ढोडेनी र विद्युतगृह वेशीसहर नगरपालिकोको रामचोक नजिक मस्र्याङदी नदीको किनारमा छ ।

आयोजना एक वर्षमा सकिने भएपछि उत्पादन हुने बिजुली प्रसारण गर्नका लागि विद्युत प्राधिकरणले प्रसारणलाइन निर्माणको काम थालेको छैन् । प्राधिकरणले मस्र्याङदी करिडोरमा २२० केभी प्रसारणलाइन निर्माण २ वर्षपछि सक्ने लक्ष्य लिएपनि काम सुरु नभएकाले अझै ढिलाइ हुने ढकालको भनाई छ ।

आउदो सन् २०१९ को अगष्टमा प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । यस्तै आयोजनाले प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई गरी ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.