११ वर्षपछि ब्युतिदै नेपाल वनस्पत्ति घिउ उद्योग, दैनिक १२ सय लिटर तोरीको तेल उत्पादन गर्दै

  २०७४ फागुन १ गते ११:३८     पृथराज थेगिम

काठमाडौं । एक दशक अघिदेखि बन्द रहेको नेपाल वनस्पति घिउ उद्योग फेरी सञ्चालन हुने भएको छ । उपभोक्तामाझ सही परिमाणमा गुणस्तरीय तेल उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको नेपाल वनस्पति घिउ उद्योग फेरी सञ्चालन हुन लागेको हो ।

उद्योगको महाप्रबन्धक मुकुन्दप्रसाद जोशीले फागुनमा हुने ३२ औं वार्षिक साधारणसभा लगत्तै उद्योग सञ्चालन गरिने बताए । ‘चालु आर्थिक वर्षभित्रै उद्योगले आफ्नै ब्राण्डको शान्ति सुद्ध तोरिको तेल उत्पादन गर्ने गरीको तयारी भइरहेको छ,’ उनले भने ‘तेल उत्पादनको लागि छिमेकी मुलुकबाट नयाँ प्रविधिको प्रशोधन मेशिन समेत झिकाइ सकिएको छ ।’

१२ लाख रुपैयाँ लागत रहेको उक्त मेशिन महिना दिनमै उद्योग स्थित हेटौडा औद्योगिक क्षेत्रमा आइपुग्ने उनको भनाइ छ । हाल उद्योगको पुरानै संरचना छ । सोही संरचनामा रहेका पुराना तथा नयाँ भित्र्याइदै गरिएको प्रविधिहरु प्रयोगमा ल्याइने उनले बताए । ‘भित्रिदै गरेको तेल प्रशोधन मेशिन नयाँ प्रबिधिको हो ।

उक्त मेशिनको माध्यमबाट ८ घन्टामा ४ टन तेल प्रशोधन गर्न सकिन्छ । जसबाट १.२ टन (१ हजार २ सय लिटर तेल) तयारी तेलको उत्पादन हुन्छ,’ उनले भने ‘उक्त तेल सुद्ध प्रशोधन, सहि परिमाणको शान्ति ब्राण्डको तोरिको तेल हुनेछ ।’

साल्ट ट्रेडिङको सूचना अधिकारी कुमार राजभण्डारीले उपभोक्तामाझ सुद्ध, सही परिमाणमा तोरीको तेल उत्पादन गर्न उद्योग सञ्चालन गर्न लागेको बताए । ‘ट्रेडिङ सरकारी स्वामित्वको संस्था हो । सस्थाले बजारमा रहेको तेलको गुणस्तर, मूल्यको उत्तारचढाव तथा न्यूनविजिकरणको समस्यालाई समेत नियन्त्रण गर्न तेलको उत्पादन गर्न लागेको हो,’ उनले भने ‘प्रत्यक्ष रुपमा किसानहरुसँगै तेलको कच्चा पदार्थ तोरी खरिद गरी तेल उत्पादन गरिनेछ ।’

उनका अनुसार किसानलाई आवश्यक पर्ने मलजन्य पदार्थ उपलब्ध गराउने र उद्योगलाई आवश्यक पर्ने तोरी लगायतका कच्चा पदार्थ किसानबाट लिइनेछ । बिना बिचौलिया किसान र उद्योगबिचको सम्बन्धलाई अघि बढाइनेछ । ‘स्वदेशमै उत्पादित कच्चा पदार्थको माध्यमबाट उद्योग सञ्चालन गर्ने संस्थाको योजना छ,’ उनले थपे ‘आगामी दिनमा सनफ्लावर, सोयाविन लगायतको तेल समेत उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको छ ।’

मुलुकमै घिउ तेलको उत्पादन गर्ने उद्देश्यले नेपाल वनस्पति उद्योग २०३३ सालमा स्थापना भएको हो । स्थापना केहीअघि भएपनि २०३९ सालबाट मात्रै सञ्चालनमा आएको थियो । सो उद्योग २०६१ पछि २०६३ सालसम्म करिब १८ महिना करारमा चौधरी ग्रुपलाई सञ्चालनको लागि दिइएको थियो ।

उद्योगको महाप्रबन्धक जोशीका अनुसार पुरानो प्रविधिको कारण लागत बढ्न गई घाटा भएको, मजदुरहरुको बाहुल्यता, राजनैतिक अस्थितरता लगायतको कारण २०६३ सालपछि उद्योग सञ्चानलन हुन नसकी बन्द हुन पुगेको थियो ।