कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित, अग्राधिकार सेयरमा ६ प्रतिशत नगद पनि

  २०७४ माघ २९ गते १६:२२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सेयरधनीलाई २१ दशमलब ०५३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने भएको छ । त्यसैगरी, नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिए बमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।

जसअन्तर्गत बैंकले २०७४ साल आषार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँलाई वार्षिक ६ प्रतिशतले हुने रकम ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश दिने भएको छ ।

हाल बैंकको साधारण सेयर चुक्ता पुँजी ७ अर्ब ०८ करोड रुपैयाँ रहेको छ । जसमा २० प्रतिशत बोनस सेयर वापत १ अर्ब ४१ करोड रुपैयाँ र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुने ७ करोड ४६ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित भएको हो ।

हाल बैंकको नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड रुपैयाँ गरी चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ कायम रहेको छ । २० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड रुपैयाँ पुग्ने छ भने साधारण चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत पुस मसान्तसम्ममा बैंकको निक्षेप रकम ९८ अर्ब १७ करोड ३४ लाख रुपैयाँ र कर्जा ९७ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । सो अवधिसम्ममा बैंकले १ अर्ब ०२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा कुल कर्जामा निष्कृय कर्जाको अंश ४.६० रहेकोमा गत पुस महिनामा कुल कर्जामा निष्कृय कर्जाको अंश ३.९५ प्रतिशत कायम रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.