देह व्यापार र मुकुन्देलाई बिर्सदैँ नयाँ पहिचानमा रत्नपार्क

  २०७४ माघ २३ गते १०:५०      सोनि घले

काठमाडौं । देह व्यापार, मुकुन्देको भाषण र फुटपाथ व्यापारसँग जोडिएको रत्नपार्कको पहिचान अहिले फेरिएको छ । ३ बर्ष पहिलेसम्म एकथरी मानिसहरु रत्नपार्कको नाम सुन्दा नाक खुम्च्याउथे तर आज रत्नपार्क जमघटको एउटा महत्वपुर्ण केन्द्र बन्न सफल भएको छ । पारिवारिक घुमघामका साथै प्रेमिल जोडीहरुका लागि रत्नपार्क एउटा सहज गन्तव्य बन्न सफल भएको छ ।

आजकल सर्वसाधारणका लागि टोलाउने स्थल मात्रै बनेको छैन् रत्नपार्क, काठमाडौं महानगरपालिकाका लागि आम्दानीको राम्रो श्रोत पनि बनिरहेको छ ।
२०७२ असार दोश्रो साताबाट रत्नपार्कमा सशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । त्यसपछि रत्नपार्कमा दैनिक एक हजारदेखि १५ सय सर्वसाधारणले शुल्क तिरेरै भ्रमण गर्दै आएका छन् । हेर्दा अरु पार्कहरु भन्दा सरल र सामान्य किसिमको देखिएता पनि यहाँ घुम्न आउने मानिसहरुको कमी कहिल्यै देखिदैन । यहाँ साना बालबालिकादेखि वयस्क हुँदै बृद्धबृद्धाहरुलाई समेत देख्न सकिन्छ । रत्नपार्क प्रवेश शुल्क सर्वसाधारणका लागि २५ रुपैंयाँ तोकिएको छ । वृद्धवृद्धा, फरक क्षमता भएकाहरुले निःशुल्क प्रवेश पाउँछन् भने विद्यार्थीले १५ रुपैंया तिर्नुपर्छ ।

विदेशी पर्यटकहरुले ७५ रुपैंया शुल्क तिरेर रत्नपार्कको अवलोकन गर्न पाउने पार्ककी लेखापाल हिरा थापाले बताइन् । ७५ लाख लागतमा रत्नपार्कलाई व्यवस्थित बनाएको थियो । हाल दैनिक ५० हजारको हाराहारीमा आम्दानी गरिरहेको छ । रत्नपार्कमा बसेर जाडोमा घामको न्यानो लिन सकिन्छ भने गर्मी महिनामा शितल ताप्न सुबिधा उपलब्ध छ । बाह्रै महिना फुल फुल्ने रत्नपार्कले यतिबेला नयाँ पहिचान मात्रै बनाएको छैन, सर्वसाधारणका लागि शहरको केन्द्र भागमा रमणिय गन्तव्य पनि उपलब्ध गराएको छ ।

‘रत्नपार्क भनेर नाक खुम्च्याउनेहरु पनि यतिबेला ओहो यो त राम्रो भएछ भन्दै टिकट काटेर घुम्न छिर्छन’, लेखापाल थापाले भनिन् । काठमाडौं महानगरपालिकाले रत्नपार्क जस्ता अन्य पार्कहरुलाई पनि थप व्यवस्थित गरेर सञ्चालनको तयारी गरिरहेको छ । त्यसले सर्वसाधारणलाई घुमफिर गन्तव्यका साथै महानगरलाई आम्दानीको श्रोत र शहरलाई सुन्दर एंव व्यवस्थित बनाउन पनि सहयोग गर्नेछ ।-प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.