चिनी उद्योगीका शर्तः ५० प्रतिशत भन्सार वा १० रुपैयाँ अनुदान

  २०७४ माघ १४ गते १६:२८     विकासन्युज

काठमाडौं । चिनी उद्योगीहरुले चिनीमा लाग्ने भन्सार महसुल ५० प्रतिशत कायम गर्न अथवा प्रतिकिलो चिनीमा १० रुपैयाँ ७० पैसा अनुदान दिन माग गरेका छन् । नेपाल चिनी उद्योग संघले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा भारी गिरावट आएकोले स्वदेशी चिनी उद्योगहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै चिनीमा लाग्ने भन्सार दर बढाउन अथवा अनुदान प्रदान गर्न सरकारसँग माग गरेको हो ।

संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी चिनीको पछिल्लो अवस्था र मागको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा संघको महासचिव राजेश केडियाले गएको जनवरीमा प्रतिटन चिनीको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब ५५० युएस डलर रहेकोमा यस वर्षको सोही अवधिमा अप्रत्याशित रुपमा घटेर ४२५ युएस डलरमा पुगेको बताए । ‘जसकारण अन्तर्राष्ट्रिय बजारमा चिनीको लागत कम हुने देखिन्छ,’ उनले भने ‘अन्तर्राष्ट्रिय मूल्य र डलरको विनिमय दरले स्वभाविक रुपमा नेपालमा आयातित गरिने चिनीको लागत मूल्य निकै कम भएको छ ।’

नेपाली बजारमा खपत हुने चिनी स्वदेशमै उत्पादन गर्न सकिने दावी गर्दै संघका अध्यक्ष शशिकान्त अग्रवालले अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकोले स्वदेशी उत्पादन हुने चिनीले आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्ने हुदाँ भन्सार महशुल १५ प्रतिशतबाट ५० प्रतिशत पुर्याउन माग गरेको बताए । ‘अथवा प्रतिकिलो चिनीमा रू.१० रुपैयाँ ७० पैसा उद्योगीलाई अनुदान दिनु पर्ने हाम्रो माग छ,’ उनले भने ‘नत्र आयातित भारत, चीन लगायतको चिनीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उद्योग धरासयी हुनेछ ।’ उनका अनुसार भन्सार दर बढाउँदैमा हालको चिनीको मूल्यमा घटबढ हुनेछैन ।

उद्योगहरुलाई धरासायी हुनबाट जोगाउन सरकारले स्वदेशी चिनी उद्योगहरुबाट लागत मूल्यमा नै सम्पूर्ण चिनी खरिद गर्ने व्यवस्था मिलाउन तथा दिर्घकालीन समस्या समाधानका लागि नेपाल चिनी तथा उखु बोेर्ड गठन गर्न समेत चिनी उद्योगी व्यवसायीहरुको माग छ । उनीहरुले ती मागहरु विगतदेखि नै उठाउँदै आएको भएपनि सुनुवाइ हुन नसकेको जानकारी दिएको छ ।

त्यस्तै, गएको कात्तिकमा कृषि विकास मन्त्रालयले समेत नेपालका उखु उत्पादक किसानहरुको संरक्षण गरी स्वदेशी कृषिजन्य उद्योगहरुलाई धराशायी हुनबाट जोगाउन भारत लगायत अन्य देशहरुबाट आयात हुने चिनीको हाल कायम महशुल १५ प्रतिशतमा वृद्धि गरी ५० प्रतिशत पुुर्याउन सचिवस्तरिय बैठक बसी सिफारिस गरेको छ ।

संघको अनुसार भारत र पाकिस्तानले स्वदेशी चिनी उद्योगहरुलाई संरक्षण तथा प्रबद्र्धन गर्न विभिन्न अनुदान तथा सहुलियतहरु दिने गरेको छ । त्यस्तै, संरक्षण तथा अनुदानहरु नेपालमा आवश्यक रहेको उनीहरुको भनाइ छ ।
भारतले चिनीको उत्पादन बढाउनका साथै आयात महशुल दर पछिल्लो समय २० प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएको छ । त्यस्तै, पाकिस्तान सरकारले निकासीमा मात्रै आफ्ना उद्योगीहरुलाई प्रतिकिलो चिनीमा १० रुपैयाँ ७० पैसा नगद अुनदान दिएको छ ।

चिनी उद्योगी व्यवसायीहरुका अनुसार मुलुकमा करिब २ लाख २५ हजार टन चिनीको माग छ । जसमा करिब १ लाख ७५ हजार टन स्वदेशमा उत्पादन हुन्छ । त्यस्तै ५० हजार टन औपचारिक तथा अनौपचारिक रुपमा भित्रिने गरेको छ ।

हाल मुलुकमा १३ ओटा चिनी उद्योगहरु सञ्चालनमा छन् । ठूलो धनरासी खर्च गरी लगानी भएको उक्त चिनी उद्योगबाट प्रत्यक्ष करिब एक लाख उखु कृषक परिवार लाभान्वित भएका छन् । अप्रत्यक्ष रुपमा करिब २ लाखको संख्यामा रोजगारी उपलब्ध गराएको संघको भनाइ छ । यस वर्ष उखुको मूल्य बराबर कृषकहरुलाई मात्रै करिब ११ अर्ब रुपैयाँ भुक्तानी गरिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.