उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन

  २०७४ माघ १३ गते १९:३६     विकासन्युज

काठमाडौ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको २४६औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी ५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।गुह्येश्वरीमाथिको वाग्मती सजफाइको २०७औँ हप्तामा हनुमानघाट र गोठाटार पुल क्षेत्रमा सफाइ गरी २ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

रुद्रमती सफाइको २०२ हप्तामा मैतीदेवी मन्दिर–सेतोपुल–रुद्रनगर टोलमा सफाइ गरी १ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए।

विष्णुमती सफाइको १७४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० मनमैँजु पुलमा सफाइ गरी ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बिजेन्द्र लामाले सुनाए ।

चक्रपथ सफाइको ४२औँ हप्तामा सुकेधारा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको पनि सहभागिता थियो । सडकमा फालिएका मोबाइल रिचार्ज गरेका कार्ड र सूर्तीको खोल पनि हटाइएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए।

वाग्मतीको तिलगंगा क्षेत्र, मीनभवन क्षेत्रको आलोकनगर र चक्रपथको बाफलखण्डमा पनि आज जनचेतनामूलक सफाइ अभियान चलाइएको सफाइ महाअभियानले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.