सुविसु क्यान इन्फोटेक मेलाको तयारी पूरा, विभिन्न २२२ स्टल रहने

  २०७४ माघ ७ गते १७:३९     विकासन्युज

काठमाडौं । माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने २४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८’ को तयारी पूरा भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा संचार क्षेत्रको नयाँ प्रबिधि एकै छानामुनि खरिद बिक्री तथा जानकारी गराउने उद्देश्यले इन्फोटेकले उक्त मेला माघ १६ गतेसम्म गर्न लागेकाे हाे ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले मेलाको लागि गरिने सबै तयारी पूरा भएको जानकारी दिएको छ । महासंघको महासचिव रन्जीतकुमार पोदारले हालसम्म मुख्य प्रदर्शनी हलभित्र र बाहिर शतप्रतिशत स्टल बुकिङ भइसकेको बताए । ‘मेलामा आम जनमानमाझ विश्वमा विकास भएको सूचना तथा सञ्चारका पछिल्लो प्रविधि एकै छानामुनि राखिनेछ,’ उनले भने ‘जसबाट एकै छानामूनि विभिन्न प्रविधिहरुको कम्पनीले दिएको आफरमा प्रविधिहरुको खरिद-विक्री हुनका साथै जानकारी दिइने छ ।’

आयोजकका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ् प्रदर्शनी कक्षहरु रहनेछन् । साथै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने छन् ।

महासचिव पोदारका अनुसार मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य को प्रदर्शनी राखिनेछ ।

उक्त मेला राजधानीमा मात्र नभएर राजधानी बाहिर चितवन, बुटवलको रुपन्देही, इटहरी र पोखरामा समेत गर्ने तयारी भइरहेको महासंघका अध्यक्ष हेमन्त चौरासियाले बताए । उनका अनुसार ती मुख्य सहरहरुमा माघ २५ गतेदेखि फागुन २८ गतेभित्रमा विभिन्न मितिमा ५/५ दिनको हुने जानकारी दिए ।

आयोजकले सर्वसाधारणको प्रवेश शुल्क रु १००, विद्यार्थीको लागि ५० रुपैयाँ तोकेको छ । माघ १४ गतेको दिनलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । सो दिनको प्रवेश शुल्क सम्पूर्णलाई १०० रुपैयाँ तोकेको छ । टिकटको अनलाईन खरीदमा २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

सन १९९५ देखि काठमाडौंमा आयोजना हुँदै आएको यस क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु केबलनेट प्रालि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.