विरामी ठगी गरेको प्रमाण जुटेपनि बी एन्ड बी, नर्भिक, वयोधा र इसान अस्पतालमाथि कार्वाहीमा अलमल

  २०७४ माघ ७ गते १०:३०      पृथराज थेगिम

काठमाडौं । विरामीमाथि ठगी गरेको प्रमाणको आधारमा राजधानीका ठूला अस्पतालहरुको फाइल अनुसन्धानको लागि सम्बन्धीत प्रहरी प्रशासनमा दर्ता गरेपनि कार्बाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

सरोकार निकायहरुले प्राथमिकता नदिदा कार्वाहीको प्रक्रिया अघि बढ्न नसकेको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा राजधानीका नाम चलेका ठुला अस्पतालले ठगी गरेको पाएपछि विभागले कार्वाहीका लागि ३ साताअघि नै प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

विभागले गरेको अनुगमनका क्रममा धापासीको ग्राण्डी हस्पिटल, बल्खुको बयोधा हस्पिटल, थापाथलिको नर्भिक इन्टरनेसनल हस्पिटल, बसुन्धराको इशान वाल अस्पताल र ग्वार्काेको बी एण्ड बी हस्पिटलले विरामीलाई ठगी गरेको प्रमाणसहित फाइल सम्बन्धीत प्रहरी प्रशासनमा दर्ता गरिसकिएको छ ।

बी एन्ड बीको महानगरीय परिसर ललितपुर र अन्य हस्पिटलको महानगरीय प्रहरी परिसर टेकुमा दर्ता गरिएको छ । महानगरीय प्रहरी परिसर टेकुले अहिलेसम्म प्रारम्भिक अनुसन्धानबाहेक अन्य कार्बाही अघि बढ्न नसकेको बताएको छ । विभागका निर्देशक लक्ष्मण श्रेष्ठले ठगी गरेका ठुला हस्पिटल कार्बाही अघि बढाउन आवश्यक सबै प्रमाण जुटिसकेको बताए ।

‘त्यतिका प्रमाण जुटेपनि किन कार्बाही अघि बढ्न नसकेको थाहा भएन,’ उनले भने ‘कार्बाही प्रक्रियालाई छिटो अघि बढाउनकै लागि हामीले हस्पिटलहरुले गरेको ठगीकोे प्रमाणसहित सिधै प्रहरी परिसरमा ठगिको छानविन गर्न फाइल पठाएका हौं ।’ ठगी गरेको प्रशस्त प्रमाणहरु भएकोले अल्मलिरहन आवश्यक नभई प्रशासनले कार्बाही प्रक्रिया अघि बढाउन सक्ने उनको धारणा छ ।

‘हस्पिटल सम्बन्धी फाइल भएकोले वास्तविकता बुझ्न नियामक निकाय स्वास्थ्य सेवा विभागलाई हामीले पत्र लेख्नका साथै मौखिक जानकारी समेत ८/१० दिनअघिनै गराइसकेका छौं,’ परिसरका एक उच्च अधिकारीले भने ‘हालसम्म जवाफ आएको छैन ।’

उनको अनुसार नियामक निकायले चासो नगर्दा अहिलेसम्म अनुसन्धान अघिबढ्न सकको छैन । स्वास्थ्य सेवा विभागले चासो दिएको भए अघि बढिसक्ने उनको भनाइ छ । अझैपनि स्पष्ट प्रमाणहरु जुट्न नसकेको परिसरले जनाएको छ ।

श्रेष्ठले नियामक निकाय डाकिरहँदा कार्बाही प्रक्रिया अघि बढ्न ढिलो हुने भएकोले विभागले सिधै प्रहरी प्रशासनमा फाइल दर्ता गराएको स्पष्ट पारे । अनुगमन गर्ने क्रममा ति हस्पिटलहरुले मुख्य गरी विभन्न बाहनामा विभिन्न किसिमको शिर्षक उपशिर्षकमा सेवाग्राहीलाई ठगेको पाइएको उनको भनाइ छ ।

उनका अनुसार शुल्क नलाग्ने ठाउमा शुल्क लगाइएकोे छ । सरकारको स्वीकृतिभन्दा बढी बेड सञ्चालन गरेका छन् । गरिब तथा असहायले पाउने निःशुल्क सेवा छुट्याएको छैन । स्वास्थ्य सेवामा ५ प्रतिशत शुल्क लिन पर्नेमा १३ प्रतिशत लिएको पाइएको छ । यतिका पर्याप्त प्रमाणहरु भएपछि प्रशासनले सिधै अनुसन्धानको प्रक्रिया अघि बढाउन सक्ने उनले तर्क दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.