४० करोडको उद्योग बन्द गरेर ८० करोड लगानी, भन्सारले यसरी डुबाउँदैछ स्वदेशी उद्योग

  २०७४ माघ ६ गते १६:००     नारायण पौडेल

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया

काठमाडौं । हेटौँडा औद्योगीक क्षेत्रभित्र २०० रोपनी जमिनमा फैलिएको छ निम्बस ग्रुपको प्रोजियोकेम ईण्डष्ट्रिज प्राली । करिब ३ अर्ब लगानीमा यो कम्पाउण्डभित्र केमिकल, ड्रम र झोला बनाउने फेब्रिक उद्योगहरु सञ्चालनमा छन भने रंगको कच्चा पदार्थ इमल्सन बनाउने उद्योग सञ्चालनको तयारीमा छ ।

नेपालकै पहिलो केमिकल उद्योग दावी गरिएको प्रोजियोकेम उद्योगमा एउटा यस्तो संयोग जुर्दै छ की, त्यहाँ ४० करोड रुपैंयाँ लगानीको उद्योग बन्द गरेर ८० करोडमा अर्काे प्लान्ट जडान गरिँदै छ । किन त्यस्तो भयो त ? उद्योगका मेनेजर शैलेश लामिछाने भन्छन–‘अधिकांश कच्चा पदार्थ आयात गरिनुपर्छ । तयारी उत्पादन र कच्चा पदार्थको भन्सार दर फरक छ, तयारी समानको भन्दा कच्चा पदार्थको भन्सार दर बढि भएपछि प्रतिष्पर्धी क्षमता गुम्यो, अनि उद्योग बन्द गर्नुका विकल्प हामीले भेटेनौं ।’

कम्पनीले उच्च भन्सार दरका कारण आयातित वस्तुसँग प्रतिष्पर्धा गर्न नसकेपछि ४० करोड लगानीमा सञ्चालन गरिरहेको डिओपी प्लान्ट बन्द गर्न लागेको हो । मासिक ४ सय टन उत्पादन क्षमताको उद्योग बन्द गर्ने तयारी थालेको निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरियाले स्विकार गरे । ‘नेपालमा उद्योग चलाउनु भनेको सबै भन्दा कठिन काम हो, कच्चा पदार्थको भन्दा तयारी समानको भन्सार कम छ, अनि हामीले कसरी उद्योग चलाउन सक्छौं, सरकारले औद्योगीकरण गर्ने भन्छ तर भन्सार दरमै न्याय गर्न सक्दैन, अनि मुलुक कसरी अघि बढ्छ’, निम्बसका प्रबन्ध निर्देशक बगरियाले भने ।

डिओपी प्लान्टले जुत्ता तथा कार्पेटलाई मुलायम र लेसिलो बनाउने कच्चा पदार्थ उत्पादन गर्दै आएको छ । नेपालमा यस्तो कच्चा पदार्थको बजार मासिक ६ सय टन रहेको अनुमान गरिन्छ । ४० करोड लगानीको डिओपी प्लान्ट बन्द गर्ने तयारीसँगै उद्योगले ८० करोड लागतमा नयाँ उद्योगको स्थापना गर्ने तयारी भने अन्तिम चरणमा पुर्याएको छ ।

रंग उत्पादक कम्पनीहरुका लागि इमल्सन नामको कच्चा पदार्थ उत्पादन गर्ने सो प्लान्टले आगामी ३ महिनापछि नै उत्पादन थाल्नेछ । ४० करोड लगानी डुबाएर ८० करोड थप्ने जोखिम मोल्ने आँट कसरी आयो ? निम्बसका प्रबन्ध निर्देशक बगरिया भन्छन–नेपालमा करिब ६० वटा रंग उद्योग छन्, ति उद्योगले इमल्सन नामको कच्चा पदार्थ आयात गर्दै आएका छन्, त्यसमा हामीले उत्पादन गर्यौं भने २० प्रतिशतको हाराहारीमा भ्याल्युएड गर्न सक्ने देखेर लगानी गर्न लागेका हौं ।’ इमल्सन प्लान्टले मासिक ५ सय टन उत्पादन क्षमता राख्नेछ । हाल बजारमा इमल्सनको मासिक माग १२ सय टन रहेको अनुमान गरिन्छ । एसियन पेन्ट, बर्जर, लगायतका ठुला कम्पनीले इमल्सन खरिद गर्ने संकेत दिएपछि बगरिया थप उत्साहित बनेका छन् ।

प्रोजियोकेमका मेनेजर लामिछानेले हेटौँडामा स्वदेशी केमिकल हब बनाउने उदेश्यले वृहत अध्ययनपछि इमल्सनसहितका अन्य तीन प्लान्टमा थप एक अर्ब लगानी थप्ने जोखिम उठाएको बताए । हाल कम्पनीले बिभिन्न आकारमा ड्रमहरुको निर्माण गरिरहेको छ भने केहि समयभित्रै रंग उद्योगहरुका लागि बिभिन्न आकारमा बट्टाहरुको निर्माण थाल्ने तयारी गरेको छ । रंग हाल्ने बट्टाहरु हाल ५० प्रतिशतको हाराहारीमा आयात भैरहेका छन ।

५० प्रतिशत हिस्सा भने नेपाली कम्पनीहरुकै उत्पादनले धानिरहेको छ । दैनिक १५ सय वटा बाल्टिन उत्पादन क्षमताको प्लान्ट जडान गर्न लागिएको हो ।कम्पनीले फेब्रिक ब्यागका लागि कपडाको पनि उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.