तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज १० अर्ब बजारमा पठाउदै

  २०७४ माघ ५ गते ८:००     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर भएपछि नेपाल राष्ट्र बैंकले आज शुक्रबार १० अर्ब रुपैयाँ बजारमा पठाउने भएकाे छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको हो ।

 

पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतको हारहारीमा पुगेको छ ।

अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । केही बैंकलाई तरलता व्यवस्थापन गर्न समस्या आएको राष्ट्र बैंकले जनाएको छ ।

अधिकाँश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् । सानिमा बैंकका सीईओ भुवन दाहाल सीसीडी रेसियो ७८ प्रतिशत पुगेको बताउछन् । सानिमाले अब थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाई छ ।

बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “यदी तरलताको अवस्था कसिलो भएको भए अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघने थियो” उनले भने “अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् ।”

रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन लागेको उनले बताए । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ ।

एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । त्यसमध्ये राष्ट्र बैंकले बजारबाट पुनः २ अर्ब रुपैयाँ प्रशोचन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.