पर्यापर्यटनबाट ६० लाख आम्दानी, सबैभन्दा बढी जिप सफारीबाट

  २०७४ माघ ४ गते १३:१८     विकासन्युज

चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ ।

सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिएका छन् ।

गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले रु ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन् ।

जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप रु ५०० लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति रु ५०, भारतीयलाई रु १०० र अन्य विदेशीलाई रु २०० लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिएका छन् ।

हात्ती प्रवेश टिकट बिक्रीबाट रु १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । डुंगा सवारबाट रु सात लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट पाँच लाख ३१ हजार रुपैयाँ, सोही शीर्षकमा नेपाली पर्यटकबाट रु ९४ हजार आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ ।

यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत रु एक लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट रु छ लाख तीन हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३/७४ मा यस वनले रु ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.