बैंकहरूको निक्षेप भन्दा कर्जा ३३ करोड बढी, निक्षेप १२.७, कर्जा १६.१ प्रतिशत विस्तार

  २०७४ माघ ४ गते ११:५७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म बैंकले निक्षेप संकलन भन्दा बढी कर्जा लगानी गरेका छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्रीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ ।

निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपको तुलनामा कर्जा लगानी बढेपछि अहिले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाहेक अधिकाँश वाणिज्य बैंकको कर्जा÷निक्षेप तथा पुँजी (सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ ।

मंसिरसम्म बैंकले १ खर्ब ३८ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् । यस्तै निक्षेप परिचालन १ खर्ब ५ अर्ब ९४ करोड रुपैयाँ मात्र गरेका छन् । ५ महिनामा निक्षेप संकलन भन्दा कर्जा लगानी ३३ करोड रुपैयाँ बढी रहेको छ ।

केही बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने अनुमान केन्द्रीय बैंकको छ ।

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने सीसीडी अनुपातमा स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको भनाई राष्ट्र बैंकको छ । वित्तीय स्थायित्वको अंकुशकोे रुपमा रहेको कर्जा÷निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने छ ।

राष्ट्र बैंककाअनुसार मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २४ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी २१ खर्ब २४अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यसअवधिमा व्यक्तिगत निक्षेप १३ खर्ब २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रमा प्रवाह गर्ने कर्जा ७.२, विकास बैंकहरुको १२.२ र वित्त कम्पनीको १.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.० प्रतिशत कर्जा चालू सम्पत्ति धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४८.९ प्रतिशत अर्थात ३१ अर्ब ५८ करोड बढेर ९६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ४.७ र ओभरड्राफ्ट कर्जा ४.३, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.१ प्रतिशतले बढेको छ ।

पुरनरकर्जा ८ अर्ब ९० करोड

उत्पादनशील क्षेत्रमा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउन सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत मंसिरमा साधारण पुनरकर्जा ८ अर्ब ११ करोड ८९ लाख र निर्यात पुनरकर्जा ७९ करोड ३ लाख गरी ८ अर्ब ९० करोड ९२ लाख रुपैयाँ पुनरकर्जा लगानीमा छ ।

भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शुन्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ मंसिर मसान्तसम्ममा १ अर्ब ३ करोड ६२ लाख पुनरकर्जा उपयोगमा रहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.