उपत्यकामा नयाँ शहरको काम सुरु, डीपीआर बनाउने जिम्मा इआरएमसीलाई

  २०७४ माघ ३ गते १८:५७      खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौ उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरको २० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि विदेशी परामर्शदातालाई जिम्मा दिएको छ ।

प्राधिकरणले इआरएमसी एनइएसटी एडीए जेभी कम्पनीसँग डीपीआर तयारीका लागि बुधबार सम्झौता गरेको छ । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीले अबको एक हप्तापछि कम्पनीले काम अगाडी बढाउने जानकारी दिए ।

जेभी कम्पनीले आउदो १ वर्षभित्र भक्तपुर र ललितपुरको नयाँ शहरको डीपीआर तयार पार्ने भएको छ । ‘प्रारम्भिक छनौटमा परेका ११ कम्पनीहरुले विस्तृत योजना बुझाएका थिए, त्यसमध्ये उत्कृष्ठ प्राविधिक क्षमता, वित्तीय प्रस्ताव, कामको अनुभव लगायतलाई आधार मानेर इआरएमसीलाई डीपीआर निर्माणको जिम्मेवारी दिएका हौं’, खोखालीले विकासन्युजसँग भने । डिपीआर निर्माणका लागि प्रधिकरणले २ करोड रुपैंयाँ छुट्याएको थियो ।

नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । नयाँ शहर निर्माणका लागि तोकिएको क्षेत्रमा जमिनको कित्ताकाट र नयाँ भवन निर्माणमा रोक लगाईसकिएको छ । यस्ता छन् नयाँ बन्ने दुई शहरहरु

काठमाडौं आग्नेय

भक्तपुरमा मात्रै निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पुर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकबाट सुर्यविनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

काठमाडौं नैऋत्य

१० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.