चार बर्षपछि काठमाडौं-निजगढ यात्रा ३८ मिनेटमै, कति भयो फास्ट ट्रयाकको काम ?

  २०७४ माघ २ गते १६:५०     नारायण पौडेल

काठमाडौं । नेपाली सेनाले काठमाडौं–निजगढ फास्ट ट्रयाकको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । सेनाले मंगलबार सैन्य मुख्यालयमा पत्रकार सम्मेलन गरेरै काठमाडौं–निजगढ फास्ट ट्रयाकको प्रगति विवरण पेश गरेको हो ।

पत्रकार सम्मेलनमा सेनाको काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजनाका उप प्रमुख सुर्य प्रसाद खनालले चार बर्षभित्रै निर्माण सम्पन्न गरिछाड्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने– काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम अघि बढि सक्यो, यसै आर्थिक बर्षभित्रमा नयाँ डीपीआर बनाईसक्छौं, त्यतिञ्जेलमा डीपीआर बिनै गर्न सकिने सबै काम गरिसक्छौं ।

सेनाले भारतीय कम्पनी आईएल एण्ड एफएससँग डीपीआर नकिन्ने निर्णय समेत गरिसकेको छ । एसियाली विकास बैंकले तयार पारेको सम्भाव्यता अध्ययनका आधारमा सेनाले आफैं डीपीआर बनाउने निर्णय गरेको हो । सेनाले ७६.२ किलोमिटर लामो काठमाडौं–निजगढ फास्ट ट्रयाकमध्ये ५४ किलोमिटरमा केहि दिनभित्रै ठेक्का लगाउने तयारी समेत गरिरहेको छ ।

‘५४ किलोमिटर खण्डमा काम गर्नका लागि २८ वटा ठेकेदारहरुको प्रस्ताव अध्ययन अन्तिम चरणमा पुगिसकेको छ’, आयोजनाका उप प्रमुख खनालले भने ।
एसियाली सडकको मापदण्डमा निर्माण गर्न लागिएको सडकको स्पिड लिमिट नै १२० किलोमिटर प्रतिघण्टा रहेको छ । आगामी चार बर्षपछि काठमाडौं–निजगढ यात्रा ३८.१ मिनेटमा छोटिनेछ ।

के के गर्यो सेनाले काम ?
१) सेनाले काठमाडौंको मख्खुबेसी, मकवानपुरको सिस्नेरी दोभा, लेनडाडाँ र बुदुने र बाराको बागदेवमा क्याम्प खडा गरिसकेको छ । अन्य पाँच् वटा क्याम्प थप्ने काम पनि अघि बढिसकेको छ ।
२) सेनाले पाइलट ट्रयाकको पहिरो पन्छाउने काम सम्पन्न गरेको छ भने ५४ किलोमिटर खण्डको विस्तृत इञ्जिनियरिङ अध्ययन( डिईएस) सम्पन्न गरेको छ । सडक निर्माणका लागि खरिद गरिएको निर्माण उपकरण सम्बन्धीत क्षेत्रमा पुर्याईसकेको छ भने स्वदेशी निर्माण व्यवसायीबाट गर्ने कामका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।
३) भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर खरिद गर्ने सम्बन्धमा वार्ता गर्न गठित समितिले अन्तिम राय सुझाव पेश गरिसकेको छ । त्यसमा पुरै डीपीआर खरिद नगर्ने उल्लेख गरिएको छ ।
४) हेभि इक्युपेन्ट सञ्चालनका लागि १८ जना गैर सैनिक अप्रेटरलाई छनौट गरेर करार नियुक्ती गरि पुसदेखि नै काममा खटाईसकेको छ ।
५) सडक क्षेत्रभित्र पर्ने घर तथा अन्य भौतिक संरचनाहरु र ऐलानी जमिनको क्षतिपुर्तिको काम अधिकांश सम्पन्न भैसकेको छ ।
६) सडक क्षेत्रााधिकार भित्र पर्ने रुखहरुको कटान आरम्भ भैसकेको छ । निजगढबाट ८ किलोमिटर क्षेत्रमा रुख कटान सम्पन्न भैसकेको छ ।

सेनाले मकवानपुरको ठिंगनमा फास्ट ट्रयाक आयोजनाका मुख्यालय निर्माण गरेर काम अघि बढाउन लागेको छ । हाल पाँच वटा क्याम्पमा ३३० जना सैनिकहरुले फास्ट ट्रयाक सडक निर्माण सम्बन्धी काम गरिरहेका छन् ।

सरकारले २०७४ साल बैशाख २१ गते फास्ट ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । असार ८ गते सरकारले आयोजना निर्माण सम्बन्धी कार्यबिधी पास गरेको थियो भने साउन २७ गते भौतिक पुर्वाधार तथा याताया मन्त्रालयले फास्ट ट्रयाकको स्वामित्व नेपाली सेनालाई हस्तान्तरण गरेको थियो । सरकारले असोज २७ गते अधिकार सम्पन्न निर्देशक समिति गठन गरेको थियो ।

कस्तो हुनेछ फास्ट ट्रयाक ?
७६.२ किलोमिटर लामो सडकको ५६.७ किलोमिटर खण्ड मकवानपुर जिल्लामा पर्छ भने ललितपुरमा ७.९ किलोमिटर पर्छ र बारामा ७.६ किलोमिटर तथा काठमाडौंमा ४ किलोमिटर पर्छ ।

समथर भुभागमा २७ मिटर चौँडाईमा सडक निर्माण हुनेछ भने पहाडी भुभागमा २५ मिटरको हुनेछ । एसियन हाईवे प्राइमरी क्लास स्टरको सडक चार लेनको हुनेछ । फास्ट ट्रयाकमा ठुला साना गरि ९९ वटा पुलहरुको निर्माण हुनेछ भने १.३७ किलोमिटर लामो एउटा सुरुङ रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.