६ महिनामा सरकारले ३ खर्ब २४ अर्ब राजश्व उठायो, राजश्वको लक्ष्य पुरा

  २०७४ माघ १ गते ११:१५     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा राजश्व संकलनमा लिएको पुरा भएको छ । सरकारले गत पुस ३० गतेसम्म ३ खर्ब २४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

सरकारले लिएको लक्ष्य पुरा भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । उनका अनुसार राजश्व वृद्धिदर २२ प्रतिशत रहेको छ । विकास खर्च बढ्यो भने राजश्व अझै बढ्ने उनको भनाई छ । हालसम्म कुल लक्ष्यको ४५ प्रतिशत राजश्व संकलन भएको छ ।

सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ । अर्थले यो वर्ष साढे ७ खर्ब रुपैयाँ राजश्व संकलन हुने अनुमान गरेको छ । पछिल्लो समयमा राजश्व संकलन सन्तोषजनक नभएकाले लक्ष्य मात्र पुरा हुने संभावना देखिएको छ ।

गत शुक्रबारसम्म सरकारले कुल बजेटको ३१ प्रतिशत खर्च गरेको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार सरकारले पुस २९ गतेसम्म ३ खर्ब ९७ अर्ब १५ करोड रुपैयाँको चेक काटेको छ । सरकारले चालु आवका लागि १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको ।

हालसम्म भएको कुल खर्च मध्ये ४१ प्रतिशत अर्थात ३ खर्ब २९ अर्ब ८७ करोड रुपैयाँ भएको छ । चालु आवमा सरकारले ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पुँजीगत खर्च अझै सुस्त रहेको छ । हालसम्म १४ प्रतिशत अर्थात ४७ अर्ब १२ करोड रुपैयाँ मात्र खर्च भएको महालेखाले जनाएको छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य लिएको छ । ठेकेदारलाई अर्बो रुपैयाँ भुक्तानी हुन बाँकी रहेकाले पुँजीगत खर्च अझै बढ्ने देखिएको छ । ठेकेदारलाई १० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

यस्तै साँवा फिर्ता अर्थात वित्तीयतर्फ १४.३७ प्रतिशत अर्थात २० अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । चालु आवमा वित्तीयतर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

राजश्व संकलन र खर्चबीच असन्तुलन हुदा चालु आवको ६ महिनामा बजेट घाटा ८० अर्ब ८८ करोड रुपैयाँ रहेको महालेखाले जनाएको छ । साउन १ र मंसिर १ मा दुई किस्ता गरी सरकारले ७५३ स्थानिय तहलाई १ खर्ब ५० अर्ब रुपैयाँ निकासा गरेका छ । तर स्थानिय तहमा निकासा भएको रकम लक्ष्यअनुसार खर्च हुन सकेको छैन् । त्यसैले विकास खर्च कम देखिएको अर्थको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.