२०७४ पुष २९ गते १७:२० विकासन्युज
काठमाडौँ, शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को नाफा खस्किएको छ ।
नेप्सेले आव २०७३/७४ मा ३७ करोड २० लाख ८५ हजार रूपैयाँ खुद नाफा गरेकाे छ । आव २०७२/७३ मा नेप्सेले ४७ करोड ४९ लाख ६० हजार रूपैयाँ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको नाफामा कमी आएको हो ।
नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको नाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए । नेप्सेले गत आवमा ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष ६९ करोड ६१ लाख ९४ हजार रूपैयाँ आम्दानी गरेको थियो ।
गत आवमा १०१ वटा संगठित संस्थाले धितोपत्र निस्काशन गरी ५९ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बराबरको पूँजी परिचालन गरेका छन् ।
प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ .६३ प्रतिशतले वृद्धि भएको छ भने पूँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३.६४ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै दोस्रो बजारमा आव २०७२/७३ मा १ खर्ब ६३ अर्ब ९५ करोड रूपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४.९० प्रतिशतले वृद्धि भई र२ खर्ब ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा ७० करोड ३६ लाखबाट बढेर ८९ करोड तीन लाख रूपैयाँ पुगेको छ । कारोबार संख्यातर्फ आव २०७२/०७३ मा ८ लाख ३६ हजार ९०२ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता शेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।
अघिल्लो आवको तुलनामा ६९.९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा गणना गर्दा २९.९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।
घट्यो बजार पूँजीकरण
आव २०७२/७३ मा १८ खर्ब ९० अर्ब रूपैयाँ रहेको नेपालको धितोपत्र बजार पूँजीकरणका १.७९ प्रतिशतले कमी आई आव २०७३/७४ मा १८ खर्ब ५६ अर्ब रूपैयाँ कायम भएको छ । आव २०७२/ ७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् । यस्तै ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भई उक्त संख्या २०८ कायम भएको छ ।
समीक्षा वर्षमा कूल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस शेयर र ७३ कम्पनीको ३० अर्ब ४६ करोड ४८ लाख रूपैयाँ बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कूल १ खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् ।
यस अवधिमा ३ अर्बको तीन वटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप शेयर र ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नेप्सेमा आव २०७२/ ७३ मा १३१ सूचीकृत कम्पनी क वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी क वर्गमा वर्गीकृत छन् । आव २०७२/७३ को अन्त्यमा १ हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा १ हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७.८९ प्रतिशतले घटेको हो ।
पचास प्रतिशत नगद लाभांश बाँडिदै
नेप्सेको ३६ औँ वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार आजको साधारणसभाले १५ करोड लाभांश वितरण गरेको छ ।
जसअनुसार सरकारलाई कूल लाभांशको ५८ प्रतिशतअर्थात ८ करोड ७० लाख रूपैयाँ जानेछ । यसैगरी नेपाल राष्ट्र बैंकले कूल लाभांशको ३५ प्रतिशत अर्थात ५ करोड ३५ लाख पाउने छ भने एनआइडिसी डेभलपमेन्ट बैंकले ६ प्रतिशतअर्थात ९० लाख नाफा पाएको छ । नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकसहित केही शेयर दलालको शेयर रहेको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.