नेपाल र चाइनाको अप्टिकल फाइबर लिंक आजबाट सञ्चालनमा

  २०७४ पुष २८ गते १४:४०     विकासन्युज

काठमाडौं । आजदेखि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रसबोर्डर अप्टिकल फाइबर लिंकबाट व्यवसायीक सञ्चालन सुरु भएको छ ।

शुक्रबार राजधानी स्थित टेलिकमको केन्द्रिय कार्यालयमा एक समारोहबीच सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उक्त अप्टिकल फाइबर लिंक सञ्चालन गरेका हुन् ।

इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यवहारिक रुपमा एकभन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआवद्धता हुने उद्देश्यले नेपाल र चाइनाबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालन सुरु गरिएको बताइएको छ ।

फाइबर लिंक सञ्चालन भएसँगै विश्वसँग जोडिने नेपाल सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभीटी) भारत र चीन दुवैतिरबाट सम्भव हुने कार्यक्रममा टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । ‘त्यस्ता फाइबर लिंक जोड्न सन् २००३ देखि पहल सुरु गरेका हौं,’ उनले भनिन् ।

टेलिकमका अनुसार सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

त्यसयता सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यवसायिक प्रयोजनका लागि उपयोग गर्न टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो । पछिल्लो समय सोही वर्षको डिसेम्बर ६ मा सो सम्बन्धी व्यवसायीक सम्झौता हङकङमा सम्पन्न भएको टेलिकमको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् ।

कार्यक्रमा चाइना टेलिकम ग्लोबलका अधिकारीहरुले अप्टिकल फाइबर लिंक सञ्चालनको माध्यबाट नेपाल र चिनको सम्बन्ध झन प्रगाढ हुनका साथै नेपालको व्यवसायीक र विकासको क्षेत्रमा दरिलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै सूचना तथा सञ्चार मन्त्री बस्नेतले नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालन मुलुकको लागि कोशेढुङ्गा सावित हुने बताए । ‘व्यपार तथा प्रत्यक्ष स्रोतको आधारमा चिन नेपालको लागि दोस्रो ठूलो मुलुक हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.