जनकपुर-जयनगरमा प्रति घण्टा १०० किलोमिटर कुद्ने रेल, पुरा हुँदै नेपालीको रेल सपना

  २०७४ पुष २८ गते ११:४९     विकासन्युज

काठमाडौं । जनकपुरदेखि जयनगरसम्म प्रति घण्टा १०० किलोमिटर गुड्ने रेल सन २०१८ भित्रै सञ्चालन हुने भएको छ । रेल विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण अन्तिम चरणमा पुर्याएको हो । भारत सरकारले १० अर्ब लागतमा सो रेलवे लाइन निर्माण गरिदिएको हो । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको छ ।

सो रेल प्रति घण्टा १०० किलोमिटर स्पिड क्षमतामा निर्माण गरिएको छ जुन भारतको भन्दा दुई गुणा तिब्र गतिको रेल हो । भारतका रेलवेहरु अधिकतम ५० किलोमिटरको क्षमतामा मात्रै गुड्छन् र ती सबै न्यारोगेज रेल वे हुन् । नेपालमा निर्माण हुने रेल वे नेटवर्क भने ब्रोडगेजका हुन् । यो खण्डमा सन २०१८ को अक्टोबर महिनासम्ममा रेल गुडाउने तयारी सहित काम अघि बढिरहेको रेल विभागका मेकानिकल इञ्जिनियर रोशन कुमार देवले बताए ।

६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ । त्यसका लागि नेपाल सरकारसँग बजेट माग्ने वा भारतसँगै सहयोग माग्ने विकल्पबारे पनि छलफल भैरहेको देवले जानकारी दिए । त्यस बोहक बुट मोडलका विकल्पबारे पनि कुरा अघि बढेको छ । हाल रेल वे लाइनमा ढुंगा राखेर स्लिपर हाल्ने काम जारी छ । त्यसपछि पुलहरुको गर्डर हाल्ने काम हुनेछ । स्लिपरमाथी रेलको लिक राखिन्छ । ठाउँ ठाउँमा क्रसिङ लाइन राखेर आउने जाने रेलको ट्राफिक व्यवस्थापन गरिनेछ ।

रेल पढ्न चीन
हाल विभागले रेलको तालिम लिन २ जना प्राबिधिकलाई चीन पठाएको छ । विभागले इलेक्ट्रोनिक इञ्जिनियर सन्तकुमार महर्जन र मेकानिकल इञ्जिनियर नवराज भट्टलाई रेलबारे थप अध्ययनका लागि चीन पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.