चिसोका कारण आलु बालीमा रोग, करिब ४० देखि ५० प्रतिशतसम्म आलुखेती सखाप

  २०७४ पुष २७ गते १५:३४     विकासन्युज

इनरुवा । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ ।

जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ ।

लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए । सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलुबालीमा डढुवा रोग देखिएको छ । किसानले ऋण काढेर लगाएको आलुखेतीमा पुसको पहिलो साताबाट शुरु भएको शीतलहरका कारण डढुवा रोग देखापरेको छ ।

किसानले रोपेको बीउसमेत उठ्न नसक्ने अवस्था छ । शीतलहरका कारण आलु सुक्ने, कम फल्ने, आलुको लहरा गल्नेलगायत लक्षण देखापर्न थालेको रफिद अन्सारीले बताए ।

जिल्ला कृषि विकास कार्यालयले कार्यक्रम बजेट स्थानीय तहमा गएका कारण प्राविधिक सहयोग मात्र गर्न सक्ने जनाएको छ । सुनसरीमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । चिसोका कारण करिब ४० देखि ५० प्रतिशतसम्म आलुखेती सखाप भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत दीपेन्द्र पोखरेलले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.